News Desk
५ पुस २०७८
मंसिर ५ देखि १२ गतेसम्म अभियान र त्यसपछि तीन दिन थपिँदा ७९ दशमलव ४ प्रतिशतले मात्र पहिलो मात्रा खोप लिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसपछि १० दिन खोप अभियान थपिएपछि ९१ प्रतिशत पुगेको कार्यालयका महामारी नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । ‘अहिले खोप दिन बन्द गरेका छौं,’ उनले भने, ‘प्रयोग नभएको २२ हजार डोज मौज्दात छ ।’ जिल्लाको कृष्णनगर, शिवराज र महाराजगन्ज नगरपालिका तथा विजयनगर र यशोधरा गाउँपालिकाका एक वर्षमाथिका २ लाख ५२ हजार ३ सय ६३ जनालाई खोप दिने लक्ष्य रहेकामा २ लाख २९ हजार ६ सय ५० जनाले मात्र खोप लिएका छन् ।
१ सय ६८ केन्द्र निर्धारण गरी करिब ८ सय जना परिचालित भई अभियान चलाइएको थियो । ‘सरकारले भत्ता दिउन्जेल स्वास्थ्यकर्मीले काम गरे,’ एक स्वास्थ्यकर्मीले भने, ‘भत्ता दिन छाडेपछि खुवाउनै गएनन् । त्यही भएर लक्षित वर्ग सबैले खोप पाएनन् ।’ सरकारको विशेष अनुरोधमा डब्लूएचओले उपलब्ध गराएको खोप प्रयोग नहुनु दुःखद भएको उनले बताए । विश्व स्वास्थ्य संठगनको सहयोगबाट प्राप्त खोपको एक डोज नेपाल आइपुग्दा ६ डलर परेको छ । असोज १८ गते कृष्णनगर नगरपालिकाबाट फैलिएको हैजा र झाडापखालाले चार स्थानीय तहका सात जनाको मृत्यु भएको छ । १ हजार ५ सयभन्दा बढी व्यक्ति उपचारपछि निको भएका थिए ।
पहिलो डोज खुवाएको १४ दिनदेखि ६ महिनाभित्र दोस्रो डोज दिइने बताइए पनि दोस्रो डोजको खोप अझै नेपाल आएको छैन । हैजा गम्भीर खालको झाडापखाला हो । समयमा यसको उपचार गरिएन भने पीडितको केही घण्टामै मृत्यु हुन सक्ने हुँदा यो संवेदनशील मानिने तौलिहवा अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षत्रीले बताए । भिब्रिओ कोलरी ब्याक्टेरियाका कारण यो रोग लाग्छ । अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुने उनले बताए ।
( कान्तिपुर दैनिक )