पर्यटकीय सडकमा सधैंको सास्ती
News Desk
Dec-21 , 2021 तारिख 12:10 बेलुका

मुगु —  ६ पुस २०७८    

मुगु , कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा जोड्ने गमगढी–नाग्मा सडक जीर्ण बनेपछि यात्रुले सधैं जोखिम र सास्ती भोग्नुपरिरहेको छ । ट्रयाक खुलेको ९ वर्षसम्म कालोपत्रे नहुँदा सडक मार्गबाट रारा आउने यात्रुले सास्ती भोग्दै आएका छन् । सडक हिलाम्मे र धुलाम्मे हुँदा पर्यटकलाई हिलो र धुलो पन्छाउँदै रारा आउनुपर्ने बाध्यता छ । प्राचीन खस राज्यको उद्गमस्थल सिँजा र रारा घुम्नका लागि पर्यटकहरू यही सडक भएर आउने गर्छन् । नेपाली सेनाले सडकको ट्र्याक खोलेर २०६९ पुस १ मा सरकारलाई हस्तान्तरण गरेको थियो । तर सरकारले थप स्तरोन्नतिको काम नगर्दा अहिलेसम्म जोखिम कायमै छ । बर्खाको मौसम असारदेखि कार्तिकसम्म सडक हिलाम्मे हुन्छ भने हिउँदको समयमा हिमपात हुँदा पुसदेखि फागुनसम्म सडक बन्द हुने अवस्था छ । फागुनदेखि जेठसम्म सुक्खा खडेरीका कारण धुलोले गाडी ठाउँठाउँमा फस्ने समस्या छ । पर्यटकीय मार्ग कालोपत्रे नहुँदा रारा घुमफिर गर्न आउने पर्यटकलाई दुःख खेप्नु परेको छायानाथरारा नगरपालिकाका श्रीचन्द रावलले बताए । ‘गमगढीमा सडक पुगेको ९ वर्ष भइसक्यो, हामीहरू सधैं हिलाम्मे र धुलाम्मे यात्रा गर्न बाध्य छौं,’ उनले भने, ‘यस्तो सास्ती अझै कहिलेसम्म भोग्नुपर्ने हो ?’

प्रदेश र संघीय सरकारले गमगढी–नाग्मा सडकको स्तरोन्नतिका लागि ४ वर्षयता बजेट विनियोजन गरिरहेको छ । तर असार मसान्तको बेला मात्र ठेक्का हुने गरेकाले बर्सेनि रकम फ्रिज हुने गरेको छ । ‘एक त थोरै बजेट आउँछ, त्यो पनि फ्रिज हुन्छ,’ रावलले भने, ‘सधैं सरकारी बजेटको दुरुपयोग भयो ।’ सडकको अवस्था सुधार नहुँदा बर्सेनि दुर्घटना बढ्दै गएको छायानाथरारा–७ का वडाध्यक्ष हरिचन्द्र शाहीले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार सडक सञ्चालनमा आएदेखि अहिलेसम्म ४० जना यात्रुले दुर्घटनामा ज्यान गुमाइसकेका छन् । गत असोज २६ मा पिना सडक खण्डमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो भने यसअघि ट्याक्टर, जिप र बस दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन् । जोखिम मोलेर सवारी यात्रा गर्दा धेरै जनाको ज्यान गएको शाहीको भनाइ छ । ‘चालकहरू पनि कच्ची सडकमा जोखिम मोलेर सवारी चलाउन बाध्य छन्,’ उनले भने, ‘यात्रुले पाउने सास्तीको त कुरै नगरौं ।’ कच्ची सडकका कारण दुर्घटना बढ्न थालेपछि सडक मार्गबाट पर्यटक रारा आउन डराउन थालेको रारा राष्ट्रिय निकुञ्जका अधिकृत बद्रिविनोद दाहालले बताए । ‘रारामा पर्यटक बढाउने हो भने सडक कालोपत्र गर्न जरुरी छ,’ उनले भने, ‘एकपटक आएका पर्यटक सडकमा पाइएको दुःख सम्झेर फेरि आउँदैनन् ।’ यो सडकमा दैनिक ४०–५० वटा सवारी साधन चल्ने गरेको जिल्ला ट्रफिक कार्यालयले जनाएको छ ।

अहिलेसम्म ३४ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ५९ किलोमिटर अझै जीर्ण छ । सडक स्तरोन्नतिका नाममा अहिलेसम्म झण्डै २६ करोड रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालयले जनाएको छ । यो वर्ष गमगढीदेखि रारा विमानस्थलसम्मको १० किलोमिटर सडक स्तरोन्नति गर्न ९ करोडको ठेक्का खोलिएको छ । गत वर्ष हिम्दुङ एन्ड थोकेर–हिरा एन्ड नमिता–खड्का–कृष्ण गाल्वा जेभी, बानियाँ निर्माण सेवा र शंकर निर्माण सेवालाई सडक स्तरोन्नतिको जिम्मा दिइएको थियो । यो वर्ष पनि उनै कम्पनीलाई निर्माणको काम दिइए पनि अझै काम सुरु गरेका छैनन् । निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा पनि सडक झन् जीर्ण बनेको रावलले दाबी गरे । दैलेख महाबुदेखि नाग्मा–गमगढी र गमगढी–नाक्चेनाङलासम्मको सडक निर्माण र स्तरोन्नतिका लागि यो वर्ष एकमुष्ट ४० करोड रुपैयाँ बजेट छुट्याएको सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले बताए । ‘बजेट अभावले कालोपत्र गर्न अझै १/२ वर्ष समय लाग्ने देखियो,’ उनले भने, ‘यो वर्ष सबैभन्दा बढी जोखिम देखिएको गमगढी–रारा विमानस्थल सडक खण्डलाई स्तरोन्नति गर्दै छौं ।’ सडक कालोपत्र गर्न संघीय सरकारसँग ३ अर्ब रुपैयाँ बजेट माग गरिएको उनले जानकारी दिए । सडक कालोपत्रे नभएसम्म पर्यटक र स्थानीयको दुःख नहट्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।    

( कान्तिपुर दैनिक )