कोरोनाले आफू सिकिस्त हुँदा पनि समाजसेवा गरिरहने कुँवरको दाउ के ?
News Desk
Dec-21 , 2021 तारिख 07:42 बेलुका

कोरोनाले आफू सिकिस्त हुँदा पनि समाजसेवा गरिरहने कुँवरको दाउ के ?

काठमाडौं । चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवरले २ सय ४० हप्ताको सरसफाई अभियान पूरा गरेका छन् ।

उनले यो समयसम्म आउँदा आफूमा थप जिम्मेवारी बढेको बताएका छन् । केही दिनअघि सफाई गर्दै उनले आफूलाई समाजमा स्थापित गरिसकेको जनाएका छन् । कुँवर नै संयोजक रहेको हजुरलाई नमस्ते परोपकारी अभियानको आयोजनामा भएको सरसफाइमा प्रहरी, सर्वसाधारण तथा अन्यको उपस्थिति रहेको थियो । ‘अभियान चलाएको मैले हो तर मेरो एक्लो प्रयासले हुनेवाला केही छैन, सबैको सहयोगले म अघि बढेको छु’ उनले भने ‘ आफ्नो गाउँ सफाई गर्नुपर्छ भन्ने चेतना बाँडेको छु, हिजो सडकमा नआउनेहरु अहिले आफैं अघि बढेर अभियानमा आउन थालेका छन् ।’ अभियानले सितापाइलादेखि छाउनीसम्म बाटो सफाई गरेको थियो । कुँवरले सडकमा दूरसञ्चार कार्यालयले अलपत्र अवस्थामा छोडेको एक ट्रक तार उठाइएको बताए । ‘दूरसञ्चार नयाँ प्रविधिमा गएछ त्यसैले काम नलाग्ने तार छोडेछ, हामीलाई उठाउन हैरान भयो’ उनले भने ‘ काम नलाग्ने भएपछि कमसेकम उठाएर लानुपर्दथ्यो नलगेपछि दुःख पायौं ।’

उनले वाहिटी ढुंगेधारा पनि सफाई गरिएको जनाए । वाहिटीको अर्थ बगेको ढुंगेधारा भन्ने बुझिन्छ । लामो समयदेखि अलपत्र परेको त्यो ढुंगेधारा सफा गरिएको र केही समयपछि पानी पनि उपलब्ध गराउने तयारी भएको कुँवरले बताए । अभियानमा महानगरीय प्रहरी वृत्त स्वयम्भू, वाहिटी टोल सुधार समिति र नेप्से म्याकको विशेष भूमिका रहेको थियो । चक्रपथ सफाई अभियानका प्रमुख अभियान्ता कुँवरले आफ्नो व्यवसायसँगै समाजसेवामा पनि समय दिँदै आएका छन् । परोपकारी अभियानका संयोजक समाजसेवी कुँवरले झण्डै ४ हजार जना लकडाउनपीडितलाई राहत वितरण गरेका छन् । उनले कुनै स्वार्थ नराखी अभियान चलाएको स्पष्ट पारेका छन् । उनले आफ्नै खर्चमा अभियान चलाएको बताए । आफूले अभियान चलाउँदा त केही गर्न सकिन्छ भने सरकार किन कमजोर भएको र किन नगरेको ? भनेर उनले सरोकारवालालाई प्रश्न गरेका छन् । उनले आफूलाई कोरोना लागेका बेला पनि घरमा आउनेलाई राहत उपलब्ध गराएका थिए । ‘म आफैं सिकिस्त थिएँ तर पनि घरमा आएका कसैलाई खाली हात फर्काइन’ उनले भने ‘ मरेर लानु केही छैन बाँचुञ्जेल केही गरेर देखाउने लक्ष्य छ ।’

उनले आफूलाई राष्ट्रको कुनै सम्मान चाहिएकाले यस्तो काम नगरेको बताएका छन् । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक, चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता, नेपाल हेभी इक्वीपमेन्ट व्यावसायी महासंघका निवर्तमान अध्यक्ष उनले आफूले व्यवसायबाट कमाएको पैसा समाजसेवामा खर्चेका छन् । उनले लकडाउन केही खुकुलो भए पनि निरन्तर राहत बाँडिरहे । 

उनले आफ्नो गाउँ काभ्रेको भुम्लु पुगेर पटकपटक राहत तथा स्वास्थ्य सामग्रीसमेत वितरण गरेका छन् । उनले धेरैपटक चिकित्सकको टोलीलाई लगेर समेत स्थानीयको स्वास्थ्य चेकजाँच गराएका छन् । उनले केही समय रक्तदान अभियान पनि चलाएका थिए । ‘मसँग धेरै भएर बाँडेको होइन तर मेरो मन छ, बाँचुञ्जेल केही गरेर देखाउँ भन्ने हो ’ उनले भने ‘समाजसेवा गर्न पाउँदा मन पनि खुशी हुन्छ र पीडितलाई थोरै भए पनि राहत मिल्छ ।’

उनले आगामी दिनमा पनि निरन्तर यस्तो अभियान चलाइरहने जनाएका छन् । उनले कोरोनाका विरामीलाई उपचारको लागि अक्सिजन अभाव हुँदा अक्सिजन सिलिण्डर पनि खोजिदिएका थिए ।