News Desk
धनुषा — ७ पुस २०७८
धनुषा , प्रदेश २ को नामकरणमा सहमति जुटाउन तीन दलबीच मंगलबार जनकपुरमा छलफल थालिएको छ । प्रदेशसभामा नाम र राजधानी तोक्ने कार्यसूची प्रवेश पाएलगत्तै दलहरूले साझा नाममा सहमति जुटाउन प्रयास थालेका हुन् । प्रदेशको नाम निर्धारणका लागि जनता समाजवादी पार्टी (जसपा), माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच छलफल भएको छ । जसपा सचेतक शैलेन्द्र यादवले माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह र एकीकृत समाजवादी संसदीय दलका नेता शत्रुधन महतोसँग प्रदेशको नाम तोक्ने विषयमा छलफल गरेका छन् । दलका नेताहरूसँगको छलफलमा जसपाका सचेतक यादवसँगै प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साह, प्रदेश सांसद मनीष सुमन, सुरेश मण्डल र विशेश्वरप्रसाद (बीपी) यादवसमेत सहभागी थिए ।
प्रदेशको नाम मधेस राख्न जसपा सचेतक यादवको नेतृत्वमा दलका नेताहरूसँग पहिलो चरणमा छुट्टाछुट्टै छलफल सुरु गरिएको बैठकमा सहभागी प्रदेश सांसद सुमनले बताए । उनका अनुसार माओवादी केन्द्रका नेता साह र नेकपा (एस) का नेता शत्रुधन महतोसँग भएको छलफल सकारात्मक छ । माओवादी केन्द्रका नेता साहले प्रदेशको नाम मधेस प्रदेश आफ्नै पार्टीको प्रस्ताव रहेको भन्दै यसमा माओवादीले मतदान गर्ने बताएको प्रदेश सांसद सुमनले जानकारी दिए । नेकपा (एस) संसदीय दलका नेता महतोले प्रदेशको नाममा सकारात्मक भए पनि पार्टी नयाँ रहेकाले सांसदहरूसँग छलफल गरी मात्रै धारणा बनाउने बताएका थिए ।
‘दलका नेताहरूसँग छुट्टाछुट्टै छलफलपछि दोस्रो चरणमा सबै दलका नेता र सांसदसँग छलफल गरी प्रदेशको नाम मधेस प्रदेश पारित गराउने प्रयास भइरहेको छ,’ सुमनले भने, ‘अघिल्लो अधिवेशनमा प्रदेशको नामसम्बन्धी प्रस्तावमा मधेस प्रदेश दर्ता भएको छ । पुस ८ गते बस्ने प्रदेशसभामा प्रदेशको नाम प्रस्तावअघि बढाएर पारित गराउने तयारीमा जुटेका छौं ।’ यसअघि प्रदेशको नाम मधेस प्रदेशमा बहुमत प्राप्त नहुँदा प्रस्ताव खारेज भएको थियो । यो प्रस्तावमा जसपाका सचेतक यादव प्रस्तावक र प्रदेश सांसद बबिता चौधरी र रानी शर्मा तिवारी समर्थक दर्ता भएको छ । प्रदेशको नामसम्बन्धी प्रस्ताव प्रदेशसभाबाट पारित गराउन सचेतक यादवको नेतृत्वमा अभियान सुरु गरिएको सांसद सुमनले बताए । प्रदेश २ मा पूर्वसंघीय समाजवादी पार्टी र पूर्वराजपाको संयुक्त सरकार हुँदा सरकारको मधेस प्रदेश प्रस्ताव प्रदेशसभामा दर्ता गराइएको थियो । प्रस्तावको प्रस्तावक समाजवादीका सचेतक यादव थिए भने पूर्वराजपाका दुवै सांसद समर्थक थिए ।
( कान्तिपुर दैनिक )