News Desk
काठमाडौँ — ८ पुस २०७८
काठमाडौँ , निजी वायु सेवा कम्पनीहरूले आन्तरिक उडानतर्फको बजार हिस्सा क्रमशः बढाउँदै लगेका बेला सरकारी स्वामित्वको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को भने खुम्चिँदै गएको छ । हाल निगमले ३७ वर्ष पुराना दुई वटा टुइनअटरबाट १७ स्थानमा उडान गर्दै आएको छ । गन्तव्य संख्याका आधारमा निगमको आन्तरिक उडानमा बजार हिस्सा २ अंकको हुनुपर्ने हो, तर २ प्रतिशतमा खुम्चिएको छ । बाँकी ९८ प्रतिशत हिस्सा निजी क्षेत्रका वायु सेवाले ओगटेका छन् । आन्तरिक उडानमा सबैभन्दा धेरै १५ जहाजले १५ गन्तव्य (३३ फ्लाइट रुट) मा उडान गर्दै आइरहेको निजी वायु सेवा कम्पनी बुद्ध एयरको दाँजोमा निगमसँग गन्तव्य बढी देखिन्छ । तर, बुद्ध ९ वटा वायु सेवा कम्पनीमध्ये करिब ६० प्रतिशत बजार हिस्सा ओगट्दै पहिलो स्थानमा छ । यसले दैनिक ७ हजार बढी यात्रुलाई सेवा दिइरहेको छ भने निगमले २ सय हाराहारी यात्रु उडाएर चित्त बुझाइरहेको छ ।
निगमले हाल १९ सिटे २ वटा टुइनअटरबाट काठमाडौंबाट ताप्लेजुङ, भोजपुर, थामखर्क, लुक्ला, खानीडाँडा, फाप्लु, दाङ तथा पश्चिममा नेपालगन्जबाट बाजुरा, सिमकोट, जुम्ला, रुकुम, ताल्चा, बझाङ, साँफेबगर र डोटीसम्म उडान गर्दै आइरहेको छ । निगमको आन्तरिक उडानतर्फका एक अधिकारीका अनुसार यी गन्तव्यमा सातामा २–५ वटासम्म मात्रै उडान भइरहेका छन् । जहाज अभावमा निगमले काठमाडौंबाट सुगम रुटका लागि गर्ने उडान करिब ठप्पजस्तै भएको छ । काठमाडौंबाट दैनिक हुने ३ सय हाराहारी आन्तरिक उडानमा निगमले दैनिक अधिकतम १६ उडान गर्दै २ सय २० यात्रु उडाइरहेको छ । आन्तरिक उडानमा जहाजको संख्या कम भएका कारण बजार उपस्थिति न्यून हुन गएको भन्दै निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग १८ वटा जहाज मागेको छ ।
मंगलबार निगम पुगेका तालुकदार मन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेसँग निगमले दुर्गम तथा हिमाली भेगका लागि ८ वटा र सुगम रुटका लागि १० वटा जहाज खरिद आग्रह गरेको हो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले कोरोना महामारीका कारण निगमले करिब २० महिनाको अवधिमा ९ अर्ब आम्दानी गुमाएको उल्लेखसमेत गरे ।
उनले सन् २०२७ सम्म निगमको आन्तरिक उडानमा सरकारले १८ वटा र अन्तर्राष्ट्रिय उडानमा ६ वटा वाइड बडी र ८ वटा न्यारो बडी गरी १४ वटा जहाज खरिद गरिदिन भनेका थिए । मन्त्री आलेले निगमलाई व्यावसायिक योजना पठाउन निर्देशन दिँदै अर्थ मन्त्रालय र प्रधानमन्त्रीसँग निगमको मागबारे छलफल गर्ने प्रतिबद्धता जनाए । निगमले सरकारले जहाज खरिद गरिदिए आन्तरिक उडानमा ३८ वटा गन्तव्य र अन्तर्राष्ट्रियतर्फ ६ वर्षभित्र टोकियो, कोलकाता, ग्वाङ्जाओ, कोलम्बो, संघाई, इन्चेन, अहमदाबाद, रियाद, सिड्नी, इन्डोनेसिया, फ्र्यांकफर्ट र लन्डन उडान गर्ने दाबी गरेको छ । जहाजका लागि लगानीबाहेक निगमले भन्सार छुट, काठमाडौं विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा एकाधिकारलगायत माग पुनः दोहोर्याएको छ ।
बोर्डमा निजी वायु सेवाका प्रतिनिधि नरहने
निगमको सञ्चालक समितिमा स्वार्थ बाझिने गरी विद्यमान निजी वायु सेवाका प्रतिनिधि रहने व्यवस्था हटाइने भएको छ । मन्त्री आलेले हाल निगमको सञ्चालक समितिमा रहेका हेलिकोप्टर कम्पनीका सञ्चालक ताप्लेजुङका ईश्वरी पौडेल र सोलुखुम्बुका फुर ग्याल्जे शेर्पालाई नराख्ने घोषणा गरे । पौडेल र शेर्पालाई तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले निगमको बोर्ड सदस्यमा नियुक्त गरेका थिए । निगमको हितविपरीत काम गर्ने, अन्य वायु सेवासँग मिलेर निगमको उडान रोक्ने, कमिसन असुल्नेलगायतका गुनासो सुनिएकाले उक्त निर्णय गरिएको मन्त्री आलेको भनाइ थियो । निगममा निजी क्षेत्रका तर्फबाट ३ जना बोर्ड सदस्य नियुक्त गर्न पाइन्छ । निगम सञ्चालक समितिमा निजी क्षेत्रकै तर्फबाट अर्का व्यवसायी विराटनगरका किशोरकुमार प्रधान भने अझै कायम छन् । निगमको नीतिगतलगायत विषयमा सञ्चालक समितिको निर्णायक भूमिकामा रहन्छ ।
( कान्तिपुर दैनिक )