News Desk
रुकुम पश्चिम — ११ पुस २०७८
रुकुम पश्चिम, निर्माण सम्पन्न हुन लागेका बेला भत्केको पुल अझै निर्माण हुन सकेको छैन । ७ महिनाअघि राप्ती लोकमार्गको सोलाबाङ–बैरागीठाँटी जोड्न साँखोलामा बनिरहेको पुल भत्केको थियो । जिल्ला भित्रिने मुख्य सडक राप्ती लोकमार्गमा निर्माणाधीन पुल नबन्दा यात्रुहरूले जोखिम मोल्दै यात्रा गरिरहेका छन् । अहिलेसम्म वारिपारिका पिलर बाहेक पुल निर्माणको अरू काम भएको छैन । पुल निर्माण त भएको छैन नै पुल निर्माण हुन्छ कि हुन्न भन्ने नै निश्चित नभएको स्थानीयको भनाइ छ । राप्ती लोकमार्ग निर्माण भएको झन्डै १९ वर्षपछि खोलामा पक्की पुल निर्माणको काम थालिएको थियो । केही काम मात्रै बाँकी रहेका बेला साँखखोलामा आएको बाढीले गत असारमा पुल बगाइदिएको हो ।
पुल भत्केपछि सोही ठाउँबाट आवतजावत गर्नेहरू चिन्तित बनेका छन् । बैरागीठाँटीका लोकबहादुर ओलीले बनिसकेको पुल भत्केको लामो समय भइसक्दा पनि पुल निर्माण नथालिँदा चिन्ता लागेको बताए । सडक बनेको लामो समयपछि पुल बन्ने आशामा बसेका आफूहरू निराश बनेको उनको भनाइ छ । पुल निर्माणको काम २०७७ भित्र सक्ने गरी ठेकेदार कम्पनी सूर्य/इलाइट जेभीले ठेक्का लिएको थियो । तर कम्पनीले गत असारसम्मको म्याद थपी निर्माणको काम अन्तिम चरणमा पुर्याएको थियो । झन्डै बनिसकेको पुल बगेपछि अवस्था पुरानै छ । मालबाहक तथा यात्रुवाहक गाडी जोखिम मोलेर पक्की पुल निर्माणस्थल नजिकैको पुरानो र जीर्ण बेलिब्रिजबाटै गुडिरहेका छन् । विश्व बैंकको साढे ९ करोड रुपैयाँ सहयोगमा साँखखोला र सल्यानको पटारेमा पुल निर्माणको ठेक्का लागेको थियो ।
सल्यानको पटारेमा गत वर्ष नै पुल निर्माण सम्पन्न भइसकेको छ । दुवै पुल निर्माणको काम सूर्य/इलाइट जेभीले नै लिएको थियो । पुल निर्माणको काम अघि बढाउन आर्थिक समस्या भएको कम्पनीका व्यवस्थापक सूर्य खड्काले बताए । ‘नगद नहुँदा तत्कालै काम सुरु गर्न सक्ने अवस्था भएन,’ उनले भने, ‘३५ मिटर लम्बाइको पुल निर्माणको काम अन्तिम चरणमा पुगेको थियो । सेटिङको सबै काम सकिएर आरसीसी ढलान भइरहेको अवस्थामा पुल भत्किएको हो ।’ यो ‘आरसीसी प्रिस्टेज’ प्रविधिको पुल हो । यो पुल निर्माणको काम लम्बिँदा साँखखोलामै रहेको जीर्ण बेलिब्रिजबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । बीचबीचमा छिद्र परेको बेलिब्रिजबाट वारपार गर्न ठूलो जोखिम छ ।
( कान्तिपुर दैनिक )