ताप्लेजुङको जनसंख्या घट्यो
News Desk
Dec-27 , 2021 तारिख 11:23 बिहान

ताप्लेजुङ — १२ पुस २०७८    

ताप्लेजुङ , आठराई त्रिवेणी गाउँपालिका–४ चाँगे घर भई काठमाडौं मूलपानीमा बस्दै आएकी लक्ष्मी लिम्बूले यो पटकको जनगणना काठमाडौंबाटै भराइन् । गाउँमा उनको घरखेती छ तर अब गाउँ फर्कन्छु भन्ने लाग्दैन । त्यसैले गणकलाई त्यहीअनुसारको सूचीकरण गराइन् । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ दोखु र झापाको बिर्तामोडमा घर भएका नेत्रप्रसाद बरालले गणनामा झापा नै रोजे । नेपाली कांग्रेसको जिल्ला अधिवेशनमा समेत जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित बरालको ताप्लेजुङमा भूसम्पत्ति छ । दुवै घरमा आउजाउ गरिरहने भए पनि गणनामा भने उनले जन्मस्थान रोजेनन् । पुरै बसाइँ सरी नसकेका तर नयाँ ठाउँलाई आफ्नो रोजाइ बनाएका यस्ता अरू पनि प्रशस्तै छन् । यहाँबाट सरेर जानेको सूची ठूलै छ । यिनै कारणले एक दशकपछि गरिएको गणनामा जिल्लाको जनसंख्या घटेको छ । जनगणना कार्यालय ताप्लेजुङको सुरुवाती तथ्यांकअनुसार जिल्लाको कुल जनसंख्या १ लाख २० हजार ४ सय ३९ छ ।

२०६८ को जनगणनामा १ लाख २७ हजार ४ सय ६१ थियो । यो वर्ष गरिएको गणनामा विदेशमा भएकाको तथ्यांक भने छुट्टै कोलममा राखिएको छ । जनगणना कार्यालयका अनुसार जिल्लाका ६ हजार ९० जना अहिले विदेशमा छन् । त्यतिबेला विदेशको छुट्याइएको थिएन । कार्यालयका अनुसार परिवार संख्या भने बढेको छ । २०६८ को गणनामा २६ हजार ५ सय ९ परिवार संख्या रहेकोमा पछिल्लो गणनाको प्रारम्भिक तथ्यांकमा २८ हजार ५ सय ३० पाइएको छ । घरसंख्या भने २६ हजार २ सय १३ छ । जिल्लामा बसोबास गर्ने पुरुषको संख्या ६० हजार ६ सय २४ र महिला ५९ हजार ८ सय १५ छ । पुरुषको तुलनामा महिलाको संख्या ८ सय ९ जनाले कमी छ ।

जबकि २०६८ मा पुरुषको तुलनामा महिलाको संख्या ६ हजार ३ सय ५२ ले बढी थियो । वैदेशिक रोजगारीमा ५ हजार १ सय ४४ पुरुष र ९ सय ३७ महिला छन । २०७८ को गणनाअनुसार एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा बढी जनसंख्या फुङलिङ नगरपालिकामा २८ हजार ७ सय ८६ छ । सबैभन्दा कम मिक्वाखोलामा ७ हजार ९ सय ९१ जनसंख्या रहेको सुरुवाती तथ्यांकले देखाएको छ । कार्यालय प्रमुख मानबहादुर थापाले फागुनमा सार्वजनिक हुने विवरणमा बसाइँ सर्नेको विवरण पनि आउने बताए । जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेन जनसंख्या घट्नुको कारण बसाइँसराइ र जन्मदर घट्नु भएको बताउँछन । ‘पहिला धेरै सन्तान जन्माउँथे, अहिले एक दुईभन्दा बढी जन्माउँदैनन्,’ मादेनले भने, ‘सुविधाको खोजीमा बसाइँ सर्नेको संख्या पनि बढेको छ ।’ विशेषगरी तराईका जिल्लामा जानेको संख्या उल्लेख्य भएको उनले बताए ।  

( कान्तिपुर दैनिक )