News Desk
काठमाडौँ — १३ पुस २०७८
काठमाडौँ , हनुमानढोका दरबार परिसरका चोक—चोकमा यतिबेला चित्रकारहरू छरिएर बसेका छन् । हातमा कुची, वरपर रङहरु र अग्रभागमा क्यानभास ठडिएका छन् । दरबारको मूल चोकबाट उत्तरको त्रिशूल चोकमा त्रिशूलको प्रतिमासहित देवस्थलको हुबहु आकृतिलाई क्यानभासमा उतार्दै छन्, चित्रकार राकेशचन्द्र श्रेष्ठ । राकेशसँगै दुई दर्जनभन्दा बढी चित्रकार दुई सातादेखि हनुमानढोका दरबार क्षेत्र परिसरका मूलचोक, त्रिशूल चोक, मोहनकालीलगायत चोकमा रहेका ऐतिहासिक मल्लकालीन तथा शाहकालीन काठ एवं ढुंगाबाट निर्मित कलाकृतिलाई क्यानभासमा उतारिरहेका छन् । चित्रकार कान्छाकाजी भासीमा र तथागत चित्रकार भने मोहनकाली चोकमा रहेको १७ औं शताब्दीतिर निर्मित काष्ठकलालाई नियाल्दै चित्र कोरिरहेका छन् । चित्रकार दिवेश प्रधानले परिसरभित्रै अवस्थित जलाशय नारायणलाई उतारेका छन् ।
हनुमानढोका दरबार संग्रहालय विकास समितिले चित्रकारको समूहसँग समन्वय गरेर सञ्चालन गरेको ‘कला कार्यशाला’ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, पूर्वकुलपति किरण मानन्धर, गेहेन्द्र अमात्य, गोविन्दसिंह डंगोल, जीवन राजोपाध्यायसहित दर्जनभन्दा बढी चित्रकार सहभागी छन् । पूर्वकुलपति मानन्धरले हनुमानढोकाका धार्मिक स्थल र कुमारीलाई आफ्नो क्यानभासमा देखाएका छन् । २०७२ को भूकम्पले क्षतिग्रस्त भएका हनुमानढोका दरबारका अधिकांश ऐतिहासिक स्थलहरू अहिले पुनर्निर्माणका क्रममा छन् । छिटै संग्रहालयको ११ औं दिवसका अवसरमा आमजनसमुदायको पहुँचमा नपुगेका सम्पदालाई चित्रकै माध्यमबाट अवलोकन गराउन कार्यशाला गरिरहेको संग्रहालयका निर्देशक सन्दीप खनालले बताए ।
‘भूकम्पले क्षतिग्रस्त भएका यहाँभित्रका कतिपय चोकमा हामीले सर्वसाधारणलाई प्रवेश गर्न अझै दिएका छैनौं,’ उनले भने, ‘पुनर्निर्माण हुँदै गर्दा आममानिसले यहाँभित्र रहेका महत्त्वपूर्ण वास्तुकला, काष्ठकलाका नमुना चित्रमा भए पनि अवलोकन गर्न सकून् भन्ने मुख्य लक्ष्य हो ।’ उनका अनुसार अहिले प्रवेश निषेध गरिएका क्षेत्रलाई चित्रमा उतार्नु सम्पदा सुरक्षा र पहिचानको हिसाबले पनि महत्त्वपूर्ण छन् । कार्यशालाका संयोजक प्रधानका अनुसार सहभागी २५ जना चित्रकारले जम्मा ५० वटा चित्र कोर्नेछन् । तीमध्ये २५ वटा चित्र दरबारको संग्रहालयमा रहनेछन् भने प्रत्येक चित्रकारले आफूले बनाएका एक थान चित्र आफैंले लिन पाउनेछन् ।
( कान्तिपुर दैनिक )