News Desk
कालीकोट — १६ पुस २०७८
कालीकोट , तिलागुफा नगरपालिका–८ ओखरभिट्टालाई बालबालिकाविरुद्ध हुने हिंसारहित गाउँ घोषणा गरिएको छ । घरदेखि विद्यालयसम्म हुने शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक हिंसाले बालबालिकाको चौतर्फी विकासमा अवरोध पुर्याएको ठहर गर्दै बालहिंसारहित गाउँ घोषणा गरिएको हो । जसका लागि दुई वर्षदेखि गाउँमा हिंसारहित अभिभावकत्वबारे चेतनामूलक अभियान सञ्चालन गरिएको थियो । शुक्रबार एक औपचारिक कार्यक्रमबीच बाल हिंसारहित गाउँ घोषणा गरिएको हो । शिक्षा, स्वास्थ्य, सहभागिता र सामाजिकीकरणमा हिंसाले नकारात्मक असर पुर्याउने ठहर गर्दै ‘सधैका लागि सबै खाले हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ गाउँलाई बाल हिंसारहित घोषणा गरिएको वडाध्यक्ष तिलक न्यौपानेले बताए । ‘अब यो गाउँमा बालविवाह हुने छैन,’ उनले भने ‘बालबालिकालाई कुटपिट गर्न, गालीगलौच गर्न र दुर्व्यवहार गर्न पाइने छैन ।’
नगरपालिकाले जारी गरेको बाल संरक्षण नीतिअनुसार कुनै पनि बालबालिकालाई हिंसा गर्नेलाई कानुनी कारबाही हुने उल्लेख छ । तिलागुफा नगरपालिकाले बाल हिंसाका घटनाको पहिचान, रोकथाम एवं सुनुवाइ गर्न एक बहुक्षेत्रीय बालहिंसा अन्त्यसम्बन्धीको रणनीतिक योजना निर्माण गरी नगर सभाबाट अनुमोदन गरिसकेको नगरप्रमुख रतनबहादुर शाहीले बताए । उनले तिलागुफाको राचुलीलाई २ वर्षअघि बालमैत्री गाउँ घोषणा गरिएपछि समुदाय, विद्यालय तथा घर परिवारमा पनि बालबालिकालाई सुरक्षित र संरक्षित भएको प्रत्याभूति गर्न अभियान थालिएको बताए । तिलागुफा–८ स्थित भित्ताका १० टोलमा ३ महिने हिंसारहित अभिभावकत्वसम्बन्धी कक्षा सञ्चालन गरिएको बालअधिकारकर्मी बाले विश्वकर्माले बताए ।
उनका अनुसार सहयात्रा परियोजनाको सहकार्यमा तिलागुफा र शुभकालिका गाउँपालिकाले सबै गरी ५४ टोलमा यो कार्यक्रम लागू गरेको छ । कुनै पनि हिंसा हुन नदिन स्थानीय तहले गाउँ बाल संरक्षण समिति, प्रहरी, वडा कार्यालय, विद्यालय, बालविज्ञलगायतको सूचीकरण गरी नक्सांकन तयार गरेको उनले जानकारी दिए । कार्यक्रमका सहभागीले बाल हिंसा नगर्ने र गर्न नदिने बाचा गर्दै देवीदेवता साक्षी राखेर प्रतिबद्धता जनाएको उनको भनाइ छ । गाउँलाई हिंसारहित घोषणा गरेपछि बालविवाहको पनि न्यूनीकरण हुने जिल्ला प्रहरी प्रमुख डीएसपी सिद्धराज न्यौपानेले बताए । ‘महिला र बालबालिकामाथि हुने हिंसा कम गर्न यस्ता घोषणा प्रभावकारी हुन्छन्,’ उनले भने, ‘दुर्व्यवहार गर्नेको पनि मनोबल घट्छ ।’ उनले तिलागुफा र शुभकालिकाबाट पछिल्लो समयमा हिंसाका उजुरीमा पनि कमी आएको जानकारी दिए ।
( कान्तिपुर दैनिक )