News Desk
भैरहवा — १८ पुस २०७८
भैरहवा , रूपन्देहीको सियारी–७ अमुवास्थित न्यू कामना इँटा उद्योगका सञ्चालक टंक अधिकारी गत मंगलबार राती पानी पर्नासाथ इँटा उद्योगमा पुगे । कामदारलाई जम्मा पारेर पोल्नतयार पारिएका काचो इँटा जोगाउन लागे । एक महिनादेखि १ सयभन्दा धेरै मजदुरले तयार पारेको काँचो इँटा घाममा सुकाउनका लागि जताततै थिए । केही दिन घाममा सुकाएपछि मात्रै पोल्न भट्टामा हाल्न मिल्छ । तर झरी लामो समयसम्म नरोकिएपछि जति प्रयास गरे पनि इँटा नोक्सान हुनबाट जोगिएन । ‘बेमौसमी वर्षाले धेरै क्षति पुर्यायो,’ अधिकारीले भने । आफ्नो उद्योगमा मात्रै २५ लाख रुपैयाँभन्दा धेरैको आर्थिक क्षति पुगेको उनले बताए । रूपन्देहीकै शुद्धोधन गाउँपालिका–३ मा रहेको खनाल इँटा उद्योगका सञ्चालक रमेश खनालको पीडा पनि उस्तै छ । साढे ५ लाख गोटा काँचो इँटा नष्ट हुँदा १३ लाखभन्दा धेरेको क्षति भएको उनले बताए । ‘इँटा उत्पादनका लागि यति बेलाको सिजन जतिसक्दो धेरै काँचो इँटा तयार पार्ने भएकाले त्यसमै केन्द्रित थियौं,’ खनालले भने, ‘पानी पर्ने भनेर मौसम विभागले अग्रिम सूचना जारी गरेको भए पनि यति धेरै काँचो इँटा जोगाउन सम्भव नै थिएन । हामी टुलुटुलु हेरेर बस्नुको विकल्प रहेन ।’
चार दिनअघि परेको पुसे झरीले अधिकारी र खनालजस्तै पीडित हुन पुगेका इँटा व्यवसायी रूपन्देहीमा झण्डै चार दर्जन छन् । लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रूपन्देहीका अनुसार झरीले रूपन्देहीमा मात्रै ३ करोडभन्दा धेरै काँचो इँटा गलेर नष्ट भएको प्रारम्भिक अनुमान छ । न्यूनतम प्रतिगोटा २ रुपैयाँ ५० पैसा लागत मूल्यले पनि ८ करोड रुपैयाँभन्दा धेरै आर्थिक नोक्सानी भएको छ । रूपन्देहीमा रहेका ५२ वटा इँटा उद्योगमध्ये ४७ वटा उद्योगमा घाममा सुकाउनका लागि राखिएका काँचो इँटा पानीले गलेर नष्ट भएका हुन् । धान बाली स्याहारेर फुर्सदिला भएका सीमावर्ती भारतीय श्रमिकलाई अग्रिम पेस्की दिएर इँटा तयार पार्न ल्याइने र भट्टामा पोल्नका लागि घान पुग्ने गरी धमाधम इँटा तयार पार्न लगाइने व्यवसायी बताउँछन् । उनीहरूका अनुसार एक राउण्डमा इँटा पकाउन यहाँका उद्योगको भट्टी ४ देखि १२ लाख गोटा इँटा अट्ने क्षमताका छन् । इँटा उद्योग पूर्ण रूपले मौसमी उद्योग हो ।
मंसिर १५ तिरदेखि श्रमिक पाइने भएकाले मगाएर काचो इँटा तयार पारिन्छ । माघ १५ तिर बल्ल पहिलो राउण्ड पोल्न सुरु गरिन्छ । चैत/वैशाखतिर पानी पर्ने भएकाले त्यतिबेला उत्पादनको काम बन्द गर्ने गरिन्छ । इँटा उत्पादनका लागि नेपालमा श्रमिक अति न्यून भएकाले भारतीय श्रमिकमै निर्भर रहनु पर्ने बाध्यता व्यवसायीलाई छ । अग्रिम पेस्की नदिएमा भारतीय कामदार अन्य कामका लागि परिचालित हुने गर्छन् । लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रूपन्देहीका महासचिव अजय गुप्ताले भट्टामा पोल्नका लागि तयार पारिएका काचो इँटा सुक्न चैत/वैशाखमा कम्तीमा पाँच/छ दिन र हिउँदको याममा १२ देखि १५ दिन लाग्ने बताए । ‘भट्टामा पोल्नुअगावै घाममा सुकाउनै पर्ने अवधिमै झरी आयो,’ गुप्ताले भने, ‘इँटा उद्योग खुला आकाशमुनिको उद्योग भएकाले केही दिनअघि नै पानी पर्ने जान्दा जान्दै पनि जोगाउनका लागि व्यवस्थापन गर्न सकिएन ।’ उनका अनुसार यतिबेला सानो परिमाणमा उत्पादन गर्ने उद्योगमा पनि दैनिक ४० हजार गोटाभन्दा धेरै काँचो इँटा तयार पार्ने गरिन्छ ।
अहिले एउटा उद्योगमा १ सयदेखि २ सयको संख्यासम्म कामदार कार्यरत छन् । उद्योग सञ्चालनमा ल्याउन ५ करोडभन्दा धेरै लगानी पर्छ । यस व्यवसायमा बेमौसमी वर्षाले निम्त्याएको घटना नौलो भने होइन । हरेक वर्ष यसरी नै घटना दोहोरिने गरेको छ । व्यवसायीले आर्थिक नोक्सानी कम गर्न मूल्यवृद्धि गर्ने निश्चितजस्तै रहेको बताएका छन् । हरेक वर्ष यसरी नै मूल्यवृद्धि गर्दा आमउपभोक्ता भने चर्को मारमा पर्दै आएका छन् । काँचो इँटाको बिमा गर्ने प्रावधान नभएकाले पनि बर्सेनि व्यवसायी र उपभोक्ताले मार खेपिरहेका हुन् । बिमा गर्नेतर्फ सरकार र बिमा कम्पनीले कुनै पहल नगरेको आरोप व्यवसायीको छ । बिमा गर्दा घाटा हुन सक्ने सम्भावना बढी भएकाले कम्पनी तयार नहुने तर पाकेको इँटाको बिमा गर्न भने उक्साउने गरेको व्यवसायी बताउँछन् । ‘इँटा व्यवसायी बर्सेनि बेमौसमी झरीबाट प्रताडित हुनुपर्ने नियति नै बनेको छ,’ इँटा उद्योग व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर घिमिरेले भने, ‘यस व्यवसायका लागि सरकारी स्तरबाट उपयुक्त नीति ल्याउन बारम्बार माग गरे पनि सरकारी स्तरबाट कुनै पहल गरिएको छैन ।’
( कान्तिपुर दैनिक )