News Desk
मुगु — १८ पुस २०७८
मुगु , सोरु गाउपालिका–४ फोतुका ४५ वर्षीय गोपाल कामीको १ छोरी र ७ छोरा गरी ८ सन्तान छन् । अहिलेसम्म उनका कुनै पनि सन्तानले एसईई उतीर्ण गरेका छैनन् । कक्षा ५ सम्म गाउँकै प्राथमिक विद्यालयमा पढेका उनका उनका छोराछोरीले त्यसभन्दा माथि पढेनन् । छोरीको विवाह भइसकेको छ भने छोराहरू मजदुरीका लागि भारत गएका छन् । उक्त गाऊँमा बसोबास गर्ने झन्डै २ दर्जन दलित घरधुरीमध्ये कसैले पनि माध्यमिक तहको पढाइ पूरा गरेका छैनन् । ३५ घरधुरी रहेको रावलबाडास्थित दलित बस्तीमा पनि एसईई उत्तीर्ण गरेको ९ जना मात्र छन् । गाउँ नजिकै माध्यमिक विद्यालय भए पनि प्राथमिक तहमै पढाइ छोड्ने चलनले गर्दा रावलबाडाका दलित युवायुवतीले एसईई उत्तीर्ण गर्न सकेका छैनन् । युवाहरू बीचमै पढाइ छोडेर ज्यालादारी काम खोज्दै भौंतारिने गरेको स्थानीय यज्ञ नेपालीले बताए । ‘गरिबीका कारण पढाइ पूरा गर्न पनि गाह्रो छ,’ उनले भने, ‘घरखर्च टार्न अधिकांश युवा मजदुरी गर्न भारतमा जानुपर्ने बाध्यता छ ।’
स्थानीय चन्द्र नेपालीले सरकारले दलित बालबालिकालाई पढाउन विभिन्न सुविधा दिए पनि बालबालिकाहरू पढाइमा कमजोर रहेको बताए । उनका अनुसार यो वर्ष मात्रै रावलबाडाका १५/२० बालबालिकाले प्राथमिक तहमै पढाइ छोडेका छन् । ‘केटीहरू ७/८ कक्षा पढ्दापढ्दै पढाइ छाड्छन्,’ उनले भने, ‘युवाहरू पनि ८/९ कक्षामा पढ्दापढ्दै साथीभाइको लहलहैमा लागेर भारतका विभिन्न ठाउँमा मजदुरी गर्न जान्छन् ।’ कक्षा १ मा दलित बस्तीका सबै बालबालिका विद्यालयमा भर्ना हुने गरे पनि माथिल्लो कक्षा उक्लिदै जाँदा पढाइ छोड्ने गरेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक अंगबहादुर बुढाले बताए । ‘छोराछोरीलाई उच्च तहसम्म पढाउनुपर्छ भन्ने अभिभावकको पनि चेतनासमेत छैन,’ उनले भने, ‘कक्षा उत्तीर्ण हुन नसक्दा पनि दलित बालबालिकाले पढाइ छाड्ने प्रवृत्ति छ ।’ सदरमुकाम नजिकै रहेको छायानाथरारा नगरपालिकास्थित सायाखोला दलित बस्तीमा ४५ घरपरिवार छन् ।
अहिलेसम्म ४ जनाले मात्र एसईई उतीर्ण गरेको स्थानीय हरिलाल नेपालीले बताए । उनका अनुसार कक्षा ५/६ सम्म पढेपछि विद्यालय छाड्ने प्रचलन धेरै छ । गाउँका १२ देखि २५ वर्षसम्मका करिब २० जना युवाहरू सदरमुकाममा मजदुरी गर्न आउने गरेका छन् । उनीहरू सबैले माध्यमिक तह पूरा नगरी पढाइ छाडेका हुन् । ‘आमाबाबु शिक्षित नहुँदा घरमा पनि पढ्न पाउँदैनन्,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर हुँदा अधिकांशलाई सानो उमेरमै घरधन्दामा व्यस्त हुनुपर्ने बाध्यता पनि छ ।’ २/३ वर्षयता भने दलित समुदायमा पढ्नुपर्छ भन्ने भावनाको विकास हुन थालेपछि अधिकांश बालबालिका विद्यालय जान थालेको उनले बताए । पैसाको लोभले गर्दा दलित बस्तीका युवायुवतीमा आधा पढाइ छोडेर ज्यालादारी काममा जाने प्रवृत्ति बढेको सायााखोलास्थित मालिका प्राथमिक विद्यालयका प्रधानाध्यापक रंगबहादुर कार्कीले बताए ।
स्कुल टाढा नभए पनि विद्यालयमा भर्ना भएका दलित बालबालिकाको पढाइ नियमित नहुने समस्या रहेको उनको भनाइ छ । बीचमै पढाइ छाड्ने चलनले गर्दा विभिन्न सरकारी तथा गैरसरकारी निकायमा कार्यरत दलित कर्मचारीको संख्या पनि न्यून छ । जिल्लाभरिका सामुदायिक विद्यालयमा ५ सय ११ जना शिक्षक कार्यरत छन् । तर दलित शिक्षक–शिक्षिकाको संख्या २१ जना मात्र छ । कर्णाली प्रदेशसभामा पहिलोपल्ट मुगुबाट दानसिह परियार र झोवा विक सांसद भए पनि प्रमुख राजनीतिक दलमा अहिलेसम्म नेतृत्वमा कोही पनि दलित छैनन् । दलितलाई प्राथमिकतामा राखेर कार्कीबाडाका एक दलित य्वुालाई बंगलादेशमा एमबीबीएस पढ्न सहयोग गरेको छायानाथरारा नगरपालिका प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार नगरपालिकाको सहयोगमा उनलाई ४ वर्षदेखि छात्रवृत्ति प्रदान गरिएको हो । ‘दलित समुदायको जनचेतना अभिवृद्धि गरी विभिन्न क्षेत्रमा पहुच पुर्याउन खोजिएको छ,’ उनले भने ।
( कान्तिपुर दैनिक )