News Desk
इलाम — १८ पुस २०७८
इलाम , इलामको लेकाली गन्तव्य पाटेनागी क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकहरूको लर्को छ । सदरमुकामलगायत क्षेत्रबाट सेताम्ये हिउँले ढाकिएको डाँडा देखिएपछि धेरैको गन्तव्यमा पाटेनागी परेको हो । इलाम बजारबाट छोटो दूरीमा नै हिउँको आनन्द लिन पाउने भएपछि धेरैले पाटेनागी क्षेत्रलाई गन्तव्य बनाएका हुन् । सदरमुकाम इलाम बजारबाट ३० किलोमिटरको दूरीमा रहेको यो क्षेत्र पुग्न मेची राजमार्गको बाघखोर, धप्परलगायतबाट उकालो चढ्नुपर्छ । पाटेनागीसम्म नै मोटरबाटो पुगेको भए पनि हिमपात भएको समयमा त्यहाँसम्म मोटर जाँदैन । राजमार्गबाट करिब १ घण्टा उक्लिएपछि भने मज्जाले हिउँले ढाकेको क्षेत्रमा पुग्न सकिन्छ । त्यही भएर युवायुवतीदेखि पाका र बच्चाहरू पनि हिउँको आनन्द लिन यस क्षेत्रमा पुगेका छन् ।
पाँचथर इलाम सीमावर्ती सुकेपोखरी लोहाकिल डाँडा र कुहिभीर पनि नजिकै रहेकाले पर्यटकले थप आनन्द लिने गरेका छन् । इलामको बाघखोरबाट पाटेनागीसम्म मोटरबाटो बनेको छ । हिमपात नभएको सिजनमा त्यो सडक प्रयोग गर्न सकिन्छ । पाँचथरको पौवाबाट ५ किलोमिटरको दूरीमा सुकेपोखरी पर्छ । त्यहाँसम्म पौवाबाट मोटर चढेर जान सकिन्छ । पछिल्लो समय इलाम र पाँचथरबाट सडक बनेपछि आझेलमा परेको यो रमणीय क्षेत्रमा आन्तरिक पर्यटकको उपस्थिति बढेको हो । यो क्षेत्रको विशेषता सिजनअनुसार फरक छ । हिउँदमा हिउँ खेल्ने, त्यसपछि गुराँसलगायतका रंगीचंगी फूलले आगन्तुक लोभ्याउँछ । इलाम पाँचथर सीमावर्ती यस क्षेत्रदेखि छिन्टापु, सन्दकपुर हुँदै मानेभन्ज्याङसम्मकै जंगल फूलले झिलिमिली हुने गरेको छ । यहाँबाट सगरमाथा, कञ्चनजंघा, मकालु, कुम्भकर्णलगायत हिमाललाई मनचाहे नियाल्न सकिन्छ ।
लोहाकिल डाँडा सूर्योदय र सुर्यास्त दृश्यावलोकनका लागि प्रसिद्ध छ । इलाम नगरपालिका, देमाई नगरपालिका र पाँचथरको फिदिम नगरपालिकाको भूगोल समेटिएको यो क्षेत्रमा दुवै जिल्लाबाट पर्यटकीय पूर्वाधार विकासका काम भइरहेका छन् । इलाम नगरपालिकाले पाटेनागीमा सिसाको पुल बनाउने काम सुरु गरेको छ । ‘प्रचुर पर्यटकीय सम्भावना भएको यो क्षेत्रको विकासका लागि नगरपालिकाले कुनै पनि कन्जुस्याइँ गरेको छैन,’ इलाम मेयर महेश बस्नेतले भने । पाटेनागी ३ हजार ५४ मिटर उचाइमा रहेको छ । यहाबाट चाँदीझैं टल्किने हिमशृंखलासँगै सूर्योदय र सूर्यास्तको मज्जा लिन सकिन्छ । लोवाकिल डाँडा ३ हजार २ सय मिटरको उचाइमा छ । इलामको पुवामझुवा र पाँचथरको सुकेपोखरी क्षेत्रमा होमस्टे छन् ।
( कान्तिपुर दैनिक )