News Desk
खोटाङ — १८ पुस २०७८
खोटाङ , ऐंसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन गुणस्तरहीन भएको पुष्टि भएपछि ठेक्का तोडिएको छ । रुजन–जगदम्बा–भुवनेश्वरी एन्ड वैभव जेभीद्वारा निर्माणाधीन भवन गुणस्तरहीन भएको पुष्टिपछि ठेक्का रद्द गरिएको हो । ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उक्त निर्माणाधीन भवन गुणस्तरहीन भएको पुष्टि गरेपछि ठेक्का रद्द गरिएको हो । निर्माणाधीन भवन गुणस्तरहीन भएको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले प्रतिवेदन दिए पनि उक्त भवन निर्माणमा संलग्न प्रतिनिधिले किर्ते गरेर गाउँपालिकालाई प्रतिवेदन बुझाएको र गुणस्तरका लागि पटक–पटक अनुरोध गर्दासमेत बेवास्ता गरिएकाले ठेक्का रद्द गर्नुपरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले बताइन् ।
उक्त भवन ३ करोड ६९ लाख ८५ हजार ८ सय ७३ रुपैयाँको लागत स्टिमेटका आधारमा टेन्डर आह्वान गरिए पनि मूल्यअभिवृद्धि करसहित २ करोड ६८ लाख ४३ हजार ३ सय ४६ रुपैयाँमा ठेक्का पारेको हो । पुस ११ को निर्णयले ठेक्का सम्झौता रद्द, धरौटी जफत, उक्त भवन निर्माणका लागि पेस्की फिर्ता र निर्माणमा संलग्न निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया बढाइएको पालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताइन् । यस्तै, ३१ लाख २ हजार रुपैयाँ धरौटी जफतका लागि नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकमा पत्राचार गरिएको छ ।
यसबाहेक भवन निर्माणका लागि लिएको करिब ६२ लाख रुपैयाँ बराबरको बिगोदाबी र निर्माणमा संलग्न रुजन के निर्माण सेवा प्रालि दिक्तेल, जगदम्बा निर्माण कम्पनी काठमाडौं, भुवनेश्वरी एन्ड वैभव बिल्डर्स काठमाडौंलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पत्राचार गरी प्रक्रिया समेत बढाइएको यादवले बताइन् । ‘हामीले पटक–पटक सच्चिने अवसर दियौं,’ यादवले भनिन्, ‘तर बेवास्ता गरिएपछि ठेक्का रद्द, कालोसूचीमा राख्ने प्रक्रिया बढाइएको हो ।’ भवनको काम चित्त नबुझेपछि २०७८ जेठ २१ गते पिलरको नमुना परीक्षणका लागि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाइएको थियो । नमुनाको प्रतिवेदन गायव गरेर नक्कली प्रतिवेदन तयार गरेर सम्बद्ध निर्माण कम्पनीले बुझाएको यादवले बताइन् । यस विषयमा पनि मुद्दा दायर गरिने यादवले सुनाइन् ।
( कान्तिपुर दैनिक )