News Desk
बागलुङ — १९ पुस २०७८
बागलुङ , खड्गबहादुर घर्तीमगर ८३ वर्ष टेके । गलकोट नगरपालिका–२ तोरीखोलाका उनले थाहा पाउँदा घरमा सामूहिक भकारी थियो । एउटा कोठाभरि गाउँलेबाट संकलित अन्नपात जम्मा गरिन्थ्यो । यसरी जम्मा गरेको अन्न खान नपाउनेलाई वितरण गरिन्थ्यो । त्यतिमात्र हैन, खान पुग्नेकै घरमा पनि विवाह, व्रतबन्ध र अन्य उत्सव हुँदा बजारबाट अन्न नकिनी यहीको प्रयोग गरिन्थ्यो । जम्मा गरेको अन्नलाई उनीहरूले पैंचो लगेर खर्च गर्थे । उत्पादन भएपछि फेरि तिर्थे । यसरी पैंचो लान थुपारिएको अन्नलाई ‘धर्म भकारी’ नाम दिइएको थियो । यो चलन अहिले पनि छ । बरु भकारी व्यवस्थापनका लागि गाउँलेको समिति छ । समितिले पालोपैंचोको हिसाब गर्छ । यो चलन कहिले सुरु भयो भन्ने लिखित तथ्य छैन तर घर्तीमगरको अनुमानमा उनका बाजेले यो सुरु गरेका थिए । यसबाट हिसाब गर्दा करिब डेढ सय वर्षअघिको चलन अहिलेसम्म रहेको धर्म भकारी संरक्षण समितिका अध्यक्ष कुमार घर्तीमगरले बताए । उनले भने, ‘अहिले पनि वितरण र फिर्ता गर्ने प्रक्रिया उस्तै छ ।’
पछिल्लो दुई वर्ष कोरोना संक्रमितलाई पनि धर्म भकारीबाट सहयोग गरिएको छ । हुनेखानेले उब्जाउ गरेपछि ब्याजसहित अन्न फिर्ता गर्छन् । नहुनेलाई गाउँलेले मिनाहा गरिदिन्छन् । बर्सेनि खान नपुग्नेलाई वितरण गर्ने र पैंचो लानेबाट ब्याजसहित फिर्ता ल्याउने चलनले उक्त भकारीको अन्न बढ्दै गएको छ । ‘पहिला १०/१५ मुरीमात्रै थियो, अहिले बढेर ८० मुरी भइसकेको छ,’ घर्तीमगरले भने । पैसा नभएको जमानामा अन्न वितरण गरेर गरिबलाई बचाउने चलन बसेको उनले बताए । अन्न लानेले वर्षमा प्रतिपाथी एक मानाका दरले ब्याज तिर्नुपर्छ । पुरानो अन्न प्रयोग भएपछि फेरि नयाँ उत्पादित अन्नले भकारी भरिन थाल्यो । धान, मकै थोरै भए पनि कोदो भने निकै जम्मा हुने गरेको छ । ग्रामीण बस्तीमा कोदो बढी हुन्छ । यहाँ ६९ घर मगर छन् । उनीहरूले विवाह, व्रतबन्ध, माघीलगायत विभिन्न चाडपर्वमा कोदोकै परिकार खाने गर्छन् । सगुनका रूपमा कोदोकै रक्सी बनाउने चलन छ । त्यसैले उनीहरूलाई कोदो बढी आवश्यक पर्छ ।
धर्म भकारीबाट गर्भवती, सुत्केरी र अन्य बिरामीलाई पनि कोदोका परिकार बनाएर खुलाउने चलन छ । ‘घरमा पकाउने खुवाउने छैनन् भने आमा समूहसमेत गएर खुवाउने चलन छ,’ धर्म भकारीकी सचिव खिमकुमारी घर्तीमगरले भनिन्, ‘अहिलेसम्म धर्म भकारीले गाउँमा अनिकाल लागेको छैन ।’ अन्नको बचत हुँदा खानाको सहकाल बनेको उनले बताइन् । यहाँ अति वर्षा, खडेरी वा महामारी नलागेको स्थानीयको अनुभव छ । धर्म भकारीमार्फत गरेको सेवाले गाउँलेलाई सधैं सहकाल लागेको स्थानीयको बुझाइ छ । यस्तो चलन समाजवादी अर्थव्यवस्थाको अनुपम नमुना भएको प्राध्यापक दिनबहादुर थापा बताउँछन् । ‘परापूर्वकालमा चौबीसे राजा भरतबम मल्लले गलकोट राज्यभरि धर्म भकारी राख्ने चलन बसाएका थिए, केही समय चलेर धेरै बन्द भए । केही मगर बस्तीमा यो अवशेष बाँकी छ,’ उनले भने, ‘यो समाज सञ्चालनको ढुकुटी पनि हो ।’ गलकोट दरबारकै छेउमा पनि पुरानो धर्म भकारी घर रहेको तर प्रयोगविहीन भएको उनले बताए । धर्म भकारीमा भाँडाकुँडा पनि जम्मा गरिएको छ । ती भाँडाकुँडा तोरीखोला आमा समूहले उपयोग गरेको छ ।
तीन वर्षअघि यहाँ एउटा सामुदायिक भवन बनेकाले भाँडाकुँडा छुट्टै भवनमा राखिन्छ । उक्त भवनमा सांस्कृतिक क्रियाकलाप गर्ने उपकरणसमेत संग्रह गरिन्छ । २०५७ सालमा बेलायतको लुथर कलेजले धर्म भकारीको छुट्टै भवन बनाउन सहयोग गरेको थियो । त्यसपछि भने व्यक्तिको घरमा अन्न राख्नु नपरेको स्थानीय दिलकुमारी रानाले बताइन् । स्थानीयले सामूहिक लगानीबाटै पञ्चेबाजा, उत्सवका लागि चाहिने टेन्ट र कुर्सीसमेत खरिद गरेर राखेका छन् । जैविक मलमात्र प्रयोग गर्ने स्थानीयले भकारो सुधार, कृषि उत्पादन बढाउने र उत्पादनबाट केही बचाउने योजना बुनेपछि भकारीको अन्नमात्र नभई अन्य वस्तुमा पनि आत्मनिर्भर बन्दै गएको स्थानीय वीरबहादुर कालामगरले बताए । सामूहिक भावना र भकारीमार्फत अन्यत्र सहयोग गर्ने पद्धतिले अन्य टोलमा पनि प्रेरणा मिलेको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘कोरोनाका बिरामी आइसोलेसनमा बस्दा आमा समूहले कोदोका परिकार बनाएर खुवाउनु हुन्थ्यो,’ भण्डारीले भने, ‘तोरीखोलाको यस्तो एकताबाट नगरभित्र र बाहिरका धेरै मानिस प्रभावित छन् ।’
( कान्तिपुर दैनिक )