News Desk
अछाम — २० पुस २०७८
अछाम , अछामको ढकारी गाउँपालिका–७ की गौरी नेपाली १७ वर्षकी भइन् । १५ वर्षमै उनले बिहे गरिन् । सानै उमेरमा बिहे गर्ने सामाजिक चलन पछ्याउन पुगेकी उनको स्वास्थ्य भने जटिल बनेको छ । पेटमा हुर्कंदै गरेको गर्भसँगै मेलापात, घाँसदाउरा र चुलोचौकाले उनको शरीर गलिसकेको थियो । प्रसूति हुने दिन कुरिरहेकी गौरीको शरीरमा कम्पन बढ्यो, बेहोस हुन थालिन् । सासूससुराले धामीझाँक्रीकहाँ लगे । गह्रुँगो भारी बोकेर शिथिल भएको ज्यान धामीझाँक्रीको लछारपछारले झन् गल्यो । त्यहीबीच उनलाई सुत्केरी व्यथा लाग्यो । घरमै मृत शिशुलाई जन्म दिइन् । बेहोस अवस्थामा मृत शिशुलाई जन्म दिएकी गौरीलाई स्वास्थ्य संस्थामा लैजानुको साटो देउता लागेको भन्दै परिवारले फेरि झाँक्रीको सहारा लिए । अन्तिम अवस्था आएपछि भने ढकारी स्वास्थ्य चौकी पुर्याए । त्यताबाट जिल्ला अस्पताल रिफर गरियो । जिल्ला अस्पतालकी अनमि धौली रावलका अनुसार अस्पताल पुग्दासम्म उनको अवस्था जटिल बनिसकेको थियो । ‘मृत शिशुलाई जन्म दिएको ४ दिनपछि मात्रै अस्पताल ल्याएका हुन् ।
१७ वर्षको कलिलो उमेरमा बच्चा जन्माउन आफैंमा कठिन छ,’ अनमि रावलले भनिन्, ‘उनी त व्यथा लाग्दा नै बेहोस भइसकेकी रहिछन् । यता पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि आइतबार हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ ।’ जिल्ला अस्पतालमा एकैदिन १७ वर्षीया गौरीबाहेक १६ वर्षीया खडी कामी र १७ वर्षीया मनीषा भुलको शल्यक्रियामार्फत प्रसूति गराइएको छ । जिल्लाको दुर्गम क्षेत्र तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया मनीषा भुललाई सुत्केरी हुनुपर्ने अवधिभन्दा एक महिना बढी नाघिसक्दासम्म पनि व्यथा लागेन । कलिलो उमेरमा आमा बन्न लागेकी उनको स्वास्थ्य अवस्था गाह्रो भएको र बच्चा पनि उल्टो देखिएकाले तुर्माखाँद स्वास्थ्य चौकीले एक महिनाअघि प्रसूतिका लागि जिल्ला अस्पताल रिफर गर्यो । बच्चा उल्टो भएकाले उनलाई सुत्केरी व्यथा लाग्ने औषधि पनि प्रयोग गर्न नमिल्ने भएकाले जिल्ला अस्पतालका चिकित्सकसहितको टिमले उनको आइतबार शल्यक्रिया गर्ने तयारी गर्यो । जिल्ला अस्पतालका डाक्टर अतुल भारद्वाजले शल्यक्रिया नगरे आमा र बच्चा दुवैको ज्यान खतरा हुने भएकाले शल्यक्रिया गर्नुपर्ने भन्दै मनीषाका परिवारलाई सम्झाइबुझाइ गरे ।
तर उनीहरूले कुनै पनि हालतमा शल्यक्रिया नगर्ने बरु घर लैजाने भन्दै मनीषालाई जबर्जस्ती गाडीमा राखे । ‘हामीले दिनभर लागेर परिवारलाई शल्यक्रिया गर्नुपर्ने भन्दै सम्झायौं तर उनीहरूले मानेनन् । घरमा पुर्याएर धामीझाँक्रीकहाँ लगे,’ डा. भारद्वाजले भने, ‘४० हप्तामा बच्चा जन्माइसक्नुपर्ने हुन्छ । मनीषाको ४४ हप्ता भइसक्दा पनि व्यथा लागेन । आइतबार मात्रै फेरि जिल्ला अस्पताल ल्याए । अहिले शल्यक्रिया गरेर बच्चाको जन्म भएको छ ।’ ढकारी गाउँपालिका–६ ढुंगाचाल्नाकी १६ वर्षीया खडी कामीले १४ वर्षमै बिहे गरिन् । सानै उमेरमा विवाह गरेकी खडीले पनि सामान्य तरिकाले शिशु जन्माउन सकिनन् । पाठेघरमा पानी नभएका कारण उनलाई गर्भ बसेको ४३ साता नाघिसक्दा पनि व्यथा लागेन । गौरी र मनीषा जस्तै उनका परिवार पनि धामीझाँक्रीको विश्वासमा लागे । अवस्था जटिल हुन थालेपछि मात्रै उनलाई ढुंगाचाल्ना स्वास्थ्य चौकी लगियो । त्यताबाट जिल्ला अस्पताल रिफर गरियो । उनले पनि आइतबार शल्यक्रिया गरेर बच्चा जन्माइन् । ‘गाउँमा १५ देखि १८ वर्षसम्मका सबैले बिहे गरिसक्छन् ।
आइतबार नै बुहारीको अपरेसन गरेर बच्चा निकालेपछि भने डर लाग्यो,’ खडीकी सासू अमृता विकले भनिन्, ‘कम उमेरमा बच्चा पाएपछि यस्तो समस्या आउँदो रहेछ, अहिले मंगलसेन आउँदा खर्च पनि धेरै लाग्यो ।’ आइतबार एकै दिन तीन किशोरी आमा बन्न नसकेर जटिल अवस्थामा जिल्ला अस्पताल आएको सूचना अधिकारी गंगा बुढामगरले बताइन् । ‘अहिले २० वर्षमुनिका किशोरीहरू जिल्ला अस्पतालमा जटिल अवस्थामा सुत्केरी हुन आइरहेका छन् । अझै पनि चेतनाको विकास हुन सकेको छैन,’ उनले भनिन् । अछाममा लागू भएको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमअन्तर्गत ग्रामीण भेगमा पुगेर गरेको गर्भ परीक्षणमा आर्थिक वर्ष ०७७/७८ मा २० वर्षमुनिका ६ सय १५ जना किशोरी गर्भवती भेटिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । तीमध्ये जटिलतायुक्त २० वर्षमुनिका ४३ जनालाई जिल्लाबाहिर रिफर गर्नुपरेको थियो । जिल्ला अस्पतालमा रिफर भएर आउने २० वर्षमुनिका गर्भवती किशोरीमा जटिल समस्या आउने गरेको बुढामगरले बताइन् ।
( कान्तिपुर दैनिक )