News Desk
पाल्पा — २१ पुस २०७८
पाल्पा , पाल्पा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट लगायत नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि अत्यावश्यक बाहेक चिकित्सकबाट हुने सेवा बन्द गरिएको छ । चिकित्सक र कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अस्पतालले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सूचना प्रकाशन गरेको हो । अस्पतालका निमित्त मेसुसहित १० जना कर्मचारीको पीसीआर परीक्षण गर्दा नौ जना कर्मचारीमा लक्षणसहितको संक्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए । अस्पतालले सूचना निकालेर २४ घण्टे डेलिभरी सेवा, ल्याब, सुरक्षित गर्भपतन, भ्याक्सिन र रेफर बाहेकका सबै चिकित्सकीय सेवा पूर्ण रुपमा बन्द गरिएको जनाएको उनले बताए ।
निमित्त मेसुसहित ६ जना मेडिकल अधिकृत, एक जना डेन्टल सर्जन, एक जना पारामेडिक्स र एक जना ल्याब टेक्निसियनमा लक्षणसहितको कोरोना पुष्टि भएको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुंवरले १० दिनसम्म आइसोलेशन बस्नुपर्ने भएकाले अर्को व्यवस्था नभएसम्मका लागि सेवा बन्द गरिएको बताए । पाल्पामा पछिल्लो केही दिनयता संक्रमितको संख्यामा पनि वृद्धि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । हाल जिल्लामा कुल २६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार एक जनाको अस्पतालमा उपचारत छन् भने बाँकी होम आइसोलेशनमा बस्दैआएका छन् ।
( कान्तिपुर दैनिक )