News Desk
बागलुङ — २२ पुस २०७८
बागलुङ , एमालेको आसन्न नवौं जिल्ला अधिवेशनका लागि तीन जनाले अध्यक्ष पदमा दाबी गरेका छन् । प्यानल बनाएर चुनाव लड्न नपाउने केन्द्रीय नीतिले गर्दा आकांक्षीले एकल एजेन्डामार्फत् मत माग्न थालेका हुन् । अध्यक्षका लागि वर्तमान कार्यवाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश समिति सदस्य हिराबहादुर केसी र ममतादेवी शर्माले पनि दाबी गरेका हुन् । पाठकले पटकपटक अरुलाई सहयोग गरेकाले यस पटक आफैं अगाडि बढ्ने बताए । ‘स्वाभाविक उम्मेदवार म हुँ,’ पाठकले भने, ‘पार्टीको भवन निर्माण, संगठन विस्तार र संगठित सदस्य दोब्बर बनाउने अभियान मेरो एजेन्डा हुन् ।’ उनले कुनै लाभ र पार्टी नेतृत्वको पदमा नरहेकाले यो पटक अध्यक्ष नछाड्ने दाबी गरे । केसीले भने ५ हजारको संख्यामा रहेको पार्टी संगठित सदस्य १२ हजार पुर्याउने महत्त्वाकांक्षी योजनासहित मत मागेका छन् ।
उनले वैदेशिक रोजगारीमा रहेका युवासमेत फर्काएर जिल्लामा स्वरोजगार दिलाउने, युवाको दस्ता बनाउनेलगायतका योजना सुनाए । उनले भने, ‘परम्परागत ढर्रामा चलेको पार्टीलाई चुस्त र प्रविधिमैत्री बनाउँछु ।’ उम्मेदवार शर्माले पार्टीभित्र प्रशिक्षण, भेला र बैठक बढाउने, संगठित सदस्य २० हजार पुर्याउने योजना अगाडि सारेकी छन् उम्मेदवारमध्ये पाठक र शर्मा ओली समूहका हुन् भने केसी दसबुँदे सहमतिपछि पार्टीमा जोडिएका नेता हुन् । आगामी शुक्रबार र शनिबार हुने अधिवेशनका लागि अन्य पदमा पनि आकांक्षीको लर्को लागेको छ । गत अधिवेशनमा निर्वाचित अध्यक्ष इन्द्रलाल सापकोटा केन्द्रीय सदस्य बनेपछि पाठक कावा अध्यक्ष भएका छन् । सचिव रहेका लालबहादुर थापा नेकपा एसको जिल्ला अध्यक्ष भएपछि उपसचिव रहेका विष्णु भुसाल सचिव बनेका छन् ।
( कान्तिपुर दैनिक )