न्युरो अस्पतालको सेवा बारे समिक्षा गर्दै मनाईयो स्व.डा. उपेन्द्र देवकोटाको ६७ औं जन्मजयन्ती
News Desk
Dec-20 , 2021 तारिख 03:53 बेलुका

काठमाडौं । बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेजले आइतबार अस्पतालका संस्थापक डा. उपेन्द्र देवकोटाको ६७ औं जन्मजयन्ती मनाएको छ । कार्यक्रममा स्वर्गिय डा. देवकोटालाई स्मरण गर्दै पेशा प्रतिको उनको निष्ठा र देश प्रतिको समर्पण बारे चर्चा गर्नुका साथै उनले देखेको सपना र कोरेको मार्ग अनुरुप अस्पतालले उनको अनुपस्थितीमा के कस्तो सेवा उपलब्ध गराउदै आएको छ भन्ने बिषयमा जानकारी गराईएको थियो । कार्यक्रम माझ अस्पतालकी अध्यक्ष प्रा. डा.मधु देवकोटाले स्व. प्रा. डा. देवकोटाले कोरेको बाटोलाई पछयाउदै अस्पताललाई प्रविधि, बिशेषज्ञ चिकित्सक एवम् जनशक्ती लगायतका अन्य स्रोत साधन सम्पन्न तुल्याईएको जानकारी दिदै गुणस्तरिय सेवामा कुनै कमी आउन नदिएको उल्लेख गरिन ।

सो अवसरमा बिशेषज्ञ चिकित्सकहरु डा. शिखर श्रेष्ठ, डा. सुभाष फुयाँल र बाबुराम पोखरेलले स्व. डा. देवकोटा स्नायु चिकित्सा क्षेत्रको युग पुरुष भएको जनाउ दिदै देवकोटाको योगदान बारे चर्चा गरेका थिए । साथै, उनीहरुले स्वर्गिय देवकोटाले देखेको सपनालाई पुरा गर्न अस्पताल परिवार एकजुट भएर सेवा प्रवाहमा तल्लिन रहदै आएको प्रतिकृया दिएका थिए ।

अस्पतालको सेवा बारे समिक्षा

सोही अवसर माझ अस्पतालले पछिल्लो समयमा प्रवाह गर्दै आएको सेवा बारे समिक्षा गरिएको छ । सेवा बारे समिक्षा गर्ने क्रममा अस्पतालले दुई वर्षमा ३ सय बढी बिरामीको इन्डोभास्कुलर पद्धति अर्थात पक्षघात तथा रक्तनलीको फुकुण्डो (एन्युरिज्म)जस्ता रोगहरुको टाउको नखोलीकनै उपचार गरिने उपचार गरिएको जनाएको छ । कार्यक्रममा अस्पतालले स्थापनाकालदेखि नै उच्च प्रविधीमा जोड दिएको उल्लेख गर्दै २ वर्षदेखि बायो—प्लेन क्याथल्याबको प्रयोग गरेर इन्डोभास्कुलर सेवा दिइरहेको जानकारी समेत गराईयो । ‘एन्युरिज्मजस्तो जटिल समस्यामा पहिला टाउको खोलेर क्लिपिङ गरिन्थ्यो भने अहिले क्वाइलिङ अर्थात टाउको नखोलिकनै गरिने इन्डोभास्कुल विकल्प हामीले हाम्रा बिरामी र उनीहरुका परिवारमाझ राख्न पाएका छौं,’ अस्पतालले भनेको छ । यस्तै, अस्पतालले ५ शैय्याको एक्युट स्ट्रोक युनिट व्यवस्थापन गरी पक्षघातको पूर्ण सेवा प्रदान गरिरहेको, १ सय शैय्याको न्यूरो अस्पतालमा वार्षिक ३० हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका, कोभिड—१९ को महामारीका कारण यसमा केही गिरावट आएकाले गत वर्ष २० हजारमा झरेको, हाल कोभिड—१९ को महामारी कम भएपछि पछिल्लो ८ महिनामा १९ हजार बिरामीले सेवा लिएको अस्पताल व्यवस्थापनले जनाएको छ । अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकसहित ३ सय बढी कर्मचारी कार्यरत रहेको पनि सो अवसरमा जानकारी गराईएको छ ।

कार्यक्रम माझ पत्रकारहरुले अस्पतालले लिने उपचार शुल्क महंगो भएकाले न्युरो अस्पताल गरिब र निमुखाको पहुँच भन्दा बाहिर रहेको भनेर राखेको सवाल उपर अस्पताल व्यवस्थापनको तर्फबाट बिशेषज्ञ चिकित्सकहरुले जवाफ दिदै अत्यन्तै एडभान्स प्रविधिको सहायता र न्युरो सम्बन्धी जटिल उपचारका क्रममा अत्यन्तै महंगो धातु प्लाटिनम समेतको प्रयोग गर्नुपर्ने अवस्था रहने हुँदा खर्चिलो हुन आउने तर अस्पतालले विश्वभर नै खर्चिलो मानिएको न्युरो रोग सम्बन्धी उपचारलाई तुलनात्मक रुपमा अन्यत्र भन्दा पनि सस्तो दरमा नै सेवा उपलब्ध गराउदै आएको जानकारी दिएका थिए । अस्पतालले स्व. डा. देवकोटाले देखेको सर्वसुलभ उपचारको सपनालाई साकार पार्न सरोकारवालाहरुसँग हातेमालो गर्न अस्पताल व्यवस्थापन सदैव तयार रहेको पनि जनाएको छ ।

Related Post