News Desk
काठमाडौँ l सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत फैलिरहेका आधारहीन तथा भ्रामक सूचनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तुरुन्त रोक्न आग्रह गरेको छ।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा मन्त्रालयले तथ्यहीन र कपोलकल्पित सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा नकारात्मक मनोविज्ञान फैलाउने खतरा बढेको उल्लेख गरेको छ। यस्ता सूचनाले सूचना प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने र सामाजिक सन्तुलनमा प्रतिकूल असर पार्न सक्ने मन्त्रालयको भनाइ छ।
मन्त्रालयले भ्रामक सूचना प्रसारणलाई गम्भीर अपराधको रूपमा लिँदै नियन्त्रणका लागि कडा कदम चालिने स्पष्ट पारेको छ। सञ्चारमाध्यम, सूचना प्रदायक संस्था तथा व्यक्तिहरूलाई आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचार हतारमा प्रकाशन वा प्रसारण नगर्न विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ।
यदि मिथ्या वा आधारहीन सामग्री प्रकाशन भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।
साथै, सर्वसाधारणलाई पनि यस्ता भ्रामक सूचनाको प्रसारमा संलग्न नहुन आग्रह गर्दै सामाजिक सञ्जालमा कुनै सामग्री साझा गर्नु अघि त्यसको सत्यता र आधिकारिकता जाँच गर्न अनुरोध गरिएको छ।
मन्त्रालयले भ्रामक सूचना सम्बन्धी गुनासो वा जानकारी उपलब्ध गराउन आफ्नो आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टल प्रयोग गर्न आग्रह गरेको छ। आवश्यक परे फोन वा इमेलमार्फत पनि सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।