व्रतालु गाउँदै छन् छठका गीत
News Desk
Nov-10 तारिख 12:27 बेलुका

विराटनगर — घरघर गितिया गायल जावल
गेहुवा पेसाए जावल... 
न पुजारी, न कुनै मन्त्र । लोकगीतबाटै सुरु, लोकगीतबाटै समापन । लोकगीतकै जगमा सूर्य उपासनाको महापर्व छठको विधि एवं परम्परा अडेको छ । ‘दसैं सकिएलगत्तै गीत सुन्दै पर्वको तयारी सुरु गर्छु, यसले पर्वको माहोल बनाउनुका साथै मार्गदर्शन पनि गर्छ,’ विराटनगर–४, जामुनगाछीकी व्रतालु ४६ वर्षीया देवी सिंह भन्छिन् । उनका अनुसार छठको हरेक विधिमा पारम्पारिक गीत गाइन्छ । मुख्य पूजा शरद ऋतुको कात्तिक शुक्ल षष्ठीमा भए पनि दसहरा समापन नहुँदै तराई–मधेसको घरघरै सुमधुर गीत गुन्जिरहेको सुन्न सकिन्छ ।

तिहारपछि छठका लागि किनमेलसँगै गायन झनै बढ्छ । कोभिड–१९ कहरपछि पहिलो पटक सार्वजनिक रूपले छठ मनाउन पाइरहेकाले सर्वत्र उल्लास र उमंग छ । ‘गत वर्ष अधिकांशले घरबाटै छठ मनाएकाले रमाइलो हुन पाएन, गीत पनि उतिसारो सुन्न पाइएन,’ उनी भन्छिन्, ‘कोभिड मत्थर भएकाले खुलेर चाडबाड मनाउन पाएका छौं, गीतसंगीत पनि मजाले घन्कन थालेको छ ।’ भाइटीकाकै बिहान शनिबार व्रतालु महिला एवं परिवारजनले सन्तान कल्याणको कामना एवं विभिन्नखाले संकल्प (भाकल) लिँदै गीत गाएर छठको सुरुवात गरिसकेका छन् । ‘सूर्यदेवलाई गीतबाटै बुधबार साँझ र बिहीबार बिहान दर्शन दिनलाई बिन्ती गरिसकेका छौं,’ मोरङको रंगेली–७ की ५७ वर्षीया तारादेवी गुप्ता भन्छिन्, ‘हरेक दिनको पूजा विधिका लागि श्रद्धा जगाउने र भावुक बनाउने गीत छन्, छठ समापन नहुन्जेल गाउँछौं, बजाउँछौं ।’

उदाउँदोभन्दा अस्ताउँदो सूर्यलाई महत्त्वका साथ पूजा गरिने यो पर्व यी सुन्दर गीतहरूबिना मनाउन असम्भव भएको विराटनगर–८ का सामाजिक कार्यकर्ता गणेश भगत बताउँछन् । ‘सांस्कृतिक रूपले छठ कति समृद्ध छ भन्ने यी गीतहरू सुन्दा महसुस हुन्छ,’ उनी भन्छन्, ‘यी गीतले धार्मिक पक्षको बखान मात्र गर्दैन, सामाजिक समानताको समेत उद्घोष गर्छ ।’ भगतका अनुसार पूर्ण सतर्कता, श्रद्धा र विश्वासका साथ मनाउनुपर्ने नीतिनियम यिनै गीतबाट निर्देशित हुन्छ । जाडो र गर्मीबीचको मनोरम समयमा पर्ने यो प्राचीन पर्वमा घरदेखि घाटसम्म बज्ने मैथिली, भोजपुर र अवधी भाषाका लोकगीतले व्रतालुसँगै आगन्तुकको समेत मन तानिरहेको हुन्छ । ‘भजन सुनिरहेजस्तै लाग्छ, पूरै नबुझे पनि मनलाई छोएर जान्छ,’ स्थानीय व्यवसायी राजेश अग्रवाल भन्छन् ।

ज्योतिषाचार्य एवं संस्कृतविद् कृष्णकिशोर त्रिपाठीका अनुसार यिनै कर्णप्रिय गीतमा छठ मनाउने उद्देश्य लुकेको हुन्छ । ‘गीतबाटै लोकलवजमा छठ भनिने सूर्यषष्ठीको अर्थ थाहा हुन्छ । सूर्यषष्ठीमा सूर्य र षष्ठी दुई शब्द छन् । सूर्यको पूजा गर्दा षष्ठीकी देवी अर्थात् छठमाताको पूजा हुन्छ, छठमाताको पूजा गर्दा सूर्यदेवको पूजा हुन्छ ।’ अरू बेला मौन बस्ने स्थानीय महिलाको स्वर विकृति र विसंगतिविरुद्ध यी गीतबाट मुखरित हुने गरेको विराटनगरका युवा अशोक रौनियार बताउँछन् । ‘पूजाको तयारी गर्दा, पुजन सामग्रीको हेरचाह गर्दा, प्रसाद तयार पार्दा, घर र घाटमा साँझबिहान पूजा गर्दा अलगअलग गीत गाइन्छ र बजाइन्छ,’ उनी भन्छन् ।

रौनियारका अनुसार ‘उ जे केरुवा फरेला धउद से, ओइपुर सुगा मेडराय,’ ‘काँची बाँस के बहंगिया, बहंगी लचकत जाए,’ ‘छठघाट सजिगेल, आइ हे अखिन छठ मैयाँ,’ ‘उग हे सुरज देव, भेल भिनसरवा...’, ‘छोटी मोटी डोमिन बिटिया के भुइयाँ लोट केस, सुपवा ले अइह हे डोमिन अर्घ्य के बेर,’ र ‘सब के अरधवा हो दीनानाथ लेल समुझाय, बाँझीन के अरधवा हो दीनानाथ, ठाढे रहिजाय,’ लगायतका गीत चर्चित छन् । व्रतालु परिवारजनका अनुसार यी लोकगीतले सामाजिक परिवर्तनको हकमा सांस्कृतिक आन्दोलनलाई जीवन्त राखेको छ । मधेसी समुदायमा बिहे, ऋतु, चाडबाड, खेतीपाती एवं सुखदुःखको अवसरमा लोकगीत गाउने चलन छ । लोकगायन भनेको छठको झनै सशक्त पक्ष भएका उनीहरू बताउँछन् ।  

( कान्तिपुर दैनिक )