मेयर महर्जनबाट मौलिक पहिचान झल्काउने ‘राधे राधे’ ज्वेलरी तथा बुटिक उद्घघाटन
News Desk
Jun-12 , 2022 तारिख 07:38 बिहान


ललितपुर  ।  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मौलिक पहिचान झल्काउने  ‘राधे राधे’ ज्वेलरी तथा बुटिक उद्घघाटन गर्नुभएको छ ।  लगनखेल र मङ्लबजार सडक खण्डको  बीच भागमा पर्ने मिननाथ टङ्लबाट बिक्री सेवा प्रारम्भ गर्न लागेको राधे राधेको मेयर महर्जनले शनिवार दिप प्रज्वलनका साथ रिबन एवम् केक काटेर  उद्घघाटन गर्नु भएको हो । उदघाटनका क्रममा मेयर महर्जन सहित ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष  पुष्परत्न शाक्य समेतले दिप प्रज्वल गर्नुभएको थियो ।  

ततपस्चात् कार्यक्रमलाई संबोधन गर्नुहुँदै मेयर महर्जनले हस्तकलाजन्य उद्योगको प्रबर्धन गर्न राधे राधेले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सोबाट ललितपुरको पहिचानलाई विश्वसामु उजिल्याउन कम्पनीले सफलता हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । साथै, उहाँले स्थानिय स्तरमा व्यवसायिक वातावरण कायम राख्न ललितपुर महानगरपालिकाले भरमग्दुर प्रयास जारी राख्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।  

त्यसैगरि, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले राधे राधेकी संचालक शुभद्रा श्रेष्ठले  अथक मेहनत र निरन्तरको प्रयासबाट सफलताहरु हासिल गर्दै गएको आफुले पाएको बताउनुहुँदै आगामी दिनमा समेत थप प्रगती हासिल गर्दै जान सकुन भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्नुभयो ।  साथै, उहाँले व्यवसाय मैत्री वातावरण तयार पार्न ललितपुर महानगरपालिकाले कर लगायतका केही बिषयमा महत्वपूर्ण निर्णय गर्न आवश्यक रहेको औंल्याउनु भयो ।  

सो अवसरमा राधे राधेकी संचालक शुभद्रा श्रेष्ठले आफनो व्यवसायिक यात्राका गुरु पुष्परत्न शाक्य रहनु भएको स्मरण गर्दै जसरी उहाँ ले तीन   दशक अघि देखी साथ दिदै आउनु भयो त्यसैगरि  मेयर महर्जनलाई पनि व्यवसायिक वातावरण  तयार पार्न सघाउ पुर्याउन आग्रह गर्नु भएको थियो ।साथै, उहाँले आफुले कुपण्डोल, दरबारमार्ग, लाजिम्पाट लगायतका स्थानबाट व्यवसाय संचालन गरेको स्मरण गर्नुहुँदै देश बाहिर पनि सात स्थानबाट व्यवसाय संचालन गर्दै आएको जानकारी गराउनु भएको थियो ।  

संचालक श्रेष्ठ  ललितपुर चेम्बर अफ कमर्सकी जिल्ला कार्यसमिती सदस्य पनि हुन ।  सो अवसरमा ललितपुर महिला चेम्बरकी अध्यक्ष सुनिता बज्राचार्य लगायतका महिला उद्यमीहरु, ललितपुर चेम्बर सम्बद्ध व्यवसायी आदीको उल्लेख्य संख्यामा सहभागीता रहेको थियो ।  

‘राधे राधे’ ज्वेलरी तथा बुटिकले मौलिक पहिचान बोकेका हस्तकलाजन्य गहना, घरायसी प्रयोजन तथा सजावटका सामाग्री साथै कपडाजन्य सामाग्रीहरु बिक्री गर्नेछ ।

धेरै पढिएको