गठबन्धन आउँदो चुनावसम्म कायम हुन्छ : प्रचण्ड
News Desk
Jun-12 , 2022 तारिख 11:03 बिहान

पोखरा  ─ २९ जेठ २०७९

पोखरा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनमा समेत कायमै राख्ने बताएका छन् । उनले सोही अनुसार मेहनत गर्न कार्यकर्तालाई निर्देशन दिए । एको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले आगामी चुनावमा गठबन्धन कायमै रहने र चुनावको तयारी गर्न आग्रह गरे । उनले निर्वाचनमा पार्टीले प्रमुख जितेका पालिकालाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रूणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुन सुझाए ।
२०७४ सालको स्थानीय तह चुनावमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो तरिकाबाट चल्न दिइए पनि अब पार्टीको नीति र सिद्धान्तका आधारमा पालिका चलाउन उनको आग्रह छ । प्रचण्डले स्थानीय निर्वाचनमा आफूहरू दोस्रो स्थानमा हुने आङ्कलन गरे पनि गठबन्धन अझै प्रभावकारी नहुँदा सिट घटेको बताएका छन् । उनले जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र पटक पटक भइरहेको भन्दै संघीयता, गणतन्त्र र संविधान रक्षाका लागि सधैँ सचेत हुनुपर्ने बताए ।

विगतमा केपी ओलीले संसद् नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोजेको आरोप लगाउँदै सबै उपलब्धि रक्षाको लागि आगामी चुनावमा समेत गठबन्धनको विकल्प नभएको प्रचण्डको भनाई छ । ‘हामीले विजय हासिल गरेका १ सय २१ पालिकालाई समाजवादी सत्ताका भ्रूणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ,’ उनले भने, ‘पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला । के गर्न उचित हुन्छ, सुझाव लिनुहोला ।’ ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् । उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने बताए । अध्यक्ष दाहालले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले प्रमुख जितेका पालिकाहरूलाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रुणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै त्यसका लागि त्याग, तपस्या र मेहेनत गरेर काम गर्न निर्देशन दिए । 

अध्यक्ष दाहालले निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्रले जितेको पालिकामा जनताको राय, सल्लाह लिएर निर्णय गर्ने गरेका छन् भन्ने पार्ने गरी काम गर्न निर्देशन दिए । माओवादी पार्टी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको उनको जिकिर छ । अध्यक्ष दाहालले पछिल्लो समय पार्टी पहिचानको सङ्कटमा परेको र जनतामा सबै पार्टी एउटै हुन् भन्ने परेकाले फरक देखिने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी अहिले पहिचानको क्राइसिसमा छौँ । क्रान्तिकारी, जनयुद्धबाट आएको, जनआन्दोलन, गणतन्त्रका बाहक भनेर कुरामा पहिचान छ तर व्यवहारमा त्यस्तो छैन । जनताले हेर्दा माओवादी, कांग्रेस, एमाले सबै व्यवहारमा उस्तै छन् । अब यसपटक त्यस्तो हुनु हुँदैन ।’ अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले दोस्रो स्थान हासिल गर्ने आकलन गरिए पनि प्रभावकारी गठबन्धन नभएकाले आशातित नतिजा प्राप्त नभएको उल्लेख गरे । माओवादी प्रभाव भएका कतिपय जिल्लाहरूमा गठबन्धनका दलहरूले तालमेलको मर्मविपरीत एमालेसँग तालमेल गरी माओवादीलाई पराजित गरेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले यस विषयमा गठबन्धनभित्र समीक्षा गरिने बताए ।

अध्यक्ष दाहालले अहिलेको सत्तारुढ गठबन्धनलाई आगामी सङ्घ र प्रदेश निर्वाचनमा समेत कायमै राखिने बताउँदै स्थानीय तहमा भन्दा आगामी निर्वाचनमा गठबन्धन गर्न सहज हुने विश्वास व्यक्त गरे । पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी शान्तिपूर्ण प्रतिस्पर्धामा सामेल हुनु संसदीय पक्षधरता होइन भनेर बुझाउनु आवश्यक रहेको बताए । उनले भने, ‘हामी शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट अघि बढेको हो तर पूँजीवादको सहयात्री होइनौँ । पूँजीवाद भत्काउन र समाजवादको बाटोमा जान तथा समाजवादको आधार तयार गर्ने भन्ने अहिलेको कार्यनीति हो । पूँजीवादलाई बलियो बनाउन शान्तिपूर्ण बाटोमा छैनौँ ।’ नेता श्रेष्ठले जनताका आधारभूत आवश्यकता खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका काममा केन्द्रित भएर काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे । सहभागीहरूलाई स्थानीय तह सञ्चालन, कानुन निर्माणलगायत विषयमा संविधानविद् खिमलाल देवकोटालगायतले प्रशिक्षण दिनुभएको पार्टीका प्रदेश अध्यक्ष गायत्री गुरुङले बताए । प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पार्टीका जिल्ला संयोजकले स्थानीय तह निर्वाचनका सम्बन्धमा रिपोर्टिङ गरेका थिए ।

धेरै पढिएको