काठमाण्डौँ - ६ मा अब्दुस मियाँको उम्मेदवारी घोषणा
News Desk
Jun-25 तारिख 05:52 बेलुका

काठमाण्डौँ - ६ मा अब्दुस मियाँको उम्मेदवारी घोषणा

युवा नेता अब्दुस मियाँले काठमाण्डौँ क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। दरबारमार्गस्थित शेर्पा मलको ओपियम रेस्टोरेन्टमा आफ्नो उम्मेदवारी घोषणा कार्यक्रम गरेर उनले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्। 
विगतमा विवेकशील साझा पार्टीको युवा संगठनको संयोजक रहेका उनले दल त्याग गरेर स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन्। यद्यपि चुनाव अगाडी या चुनाव पछि पुनः युवाहरूको नयाँ राजनीतिको आका‍ंक्षालाई समेट्ने गरी नयाँ सम्भावना खोजिने उनले बताए। उनको संकेत स्वतन्त्र उम्मेदवार र अन्य युवाहरु समेट्ने तर्फ थियो।  
‘प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरु कानून निर्माताका रूपमा सहभागी हुनुपर्छ भन्ने मेरो उद्देश्य हो’ - मियाँले भने, म ‘देशभरका १६५ निर्वाचन क्षेत्रहरुबाटै सक्षम युवहरुलाई उम्मेदवारी दिन आह्वान गर्न चाहन्छु।’ 
मियाँले आफ्नो मुख्य एजेण्डाको रुपमा ‘नेपाललाई शान्ती क्षेत्र बनाउने प्रस्तावलाई अगाडि बढाउन पहल गर्ने, गरिखाने उद्यमशील समाज बनाउनको निम्ति नीतिगत, ब्युरोक्र्याटीक र प्रशासनिक झन्झट लाई हटाउने, ग्लोबल वार्मिङ, यु.बि.आइ , लगायत बिषयलाइ संसदको बहसको बिषय बनाउने’ छन्।
सँगसँगै संसद विकास कोषलाइ कनिका छर्ने जस्तो प्राबधानलाइ करेक्सन गर्दै पोलिसी डेडिकेसनको माध्यम बाट सामुदायिक शिक्षालयको पुनःसंरचना गर्दै अगाडि बढाउन भूमिका खेल्ने र सरकारलाइ जनताप्रति थप उत्तरदायी बनाउन संसदलाइ नागरिक सर्वोच्चताको अभ्यास गर्ने थलो बनाउने उनका योजना छन्। नीतिगत तथा राजनीतिक भ्रष्टाचारको सदनबाटै भण्डाफोर गर्ने उनको भनाई छ।

संविधानमा ‘नो अब्जेक्सन’
विवेकशील साझा पार्टीमा रहँदा तत्कालिन अध्यक्ष रवीन्द्र मिश्रले प्रस्तुत गरेको दस्तावेजमा समेटिएका विषयबारे सञ्चारकर्मीको प्रश्नमा उनले संविधानका मुलभुत अन्तरवस्तुबारे आफ्नो विमति नरहेको बताए। ‘पार्टीमा अध्यक्षले ल्याउनुभएको प्रस्तावमा पार्टीभित्र विभिन्न धारणा थिए। तर त्यसले सही ट्र्याक लिन नसकेपछि अहिले पार्टी नै कोमामा छ। त्यो च्याप्टर नै क्लोज भयो। मेरो यो संविधानमा खास विमति छैन।’

काठमाण्डौँ - ६ लाई ‘गरिखाने युवाहरूको क्षेत्र’ बनाउन पहल गर्ने
काठमाण्डौँको दरबारमार्गमा मनोरञ्जन व्यवसाय गर्नेदेखि देखि टोखाको पसलमा दुध या मासु बेचेर नेपालमै गरिखाने माहोल बनाइरहेका युवाहरूको आवाज संसदबाट उठाउने मियाले बताए। राजनीतिक तहमा रहेको भ्रष्टाचारको कारण देशमा रोजगारीका अवसर खोसिएको र युवाहरु विदेशिन बाध्य भएको अवस्थामा नेपालमै केही गरूँ भन्ने युवाहरूलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने मियाँको भनाई थियो।
नेपाललाई ‘शान्ति क्षेत्र’ को प्रस्तावलाई अगाडी बढाउन पहल गर्ने
नेपाललाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्ने प्रस्तावलाई अगाडी बढाउन पहल गर्ने पनि मियाँको योजना छ। नेपालको खराब कुटनीतिका कारण बुद्ध जन्मस्थल शान्तिको पर्याय भूमि नेपाल विदेशी शक्ति राष्ट्रहरुको खेलमैदान बन्ने डर बढिरहेकोले नेपाललाई शान्ति क्षेत्र कायम गराउने प्रस्ताव पुनः अगाडी बढाउन पर्ने र त्यसमा आफ्नो तर्फबाट संसदबाट पहल रहने मियाँको प्रतिबद्धता छ।