बालेनका हमसकल सुनिलले काठमाडौँ क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी दिने
News Desk
Jul-01 तारिख 08:55 बिहान

 

काठमाडौं ।  आउने संसदिय निर्वाचनमा सामाजिक अभियन्ता सुनिल रिजालले काठमाडौँ क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।  इमेल मार्फत प्राप्त प्रेषित प्रेस नोटमा उनले उम्मेदवारी दिन लागेको खुलासा गरेका हुन । 

२०७३ साल देखि सरकारी सेवामा रही गरिबी निवारणको छेत्रमा कार्य गर्दै आईरहेका सामाजिक अभियन्ता सुनिल रिजालले आउँदो संसदीय चुनावमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं ९ बाट उम्मेदवारी घोषणाको तैयारीमा रहेको जानकारी दिदै भनेका छन् ‘नेपालको राजनैतिक व्यवस्थामाथि निरन्तर प्रश्न उठ्ने गरेको छ । बारम्बारको किचलो र कलहले नेपाली राजनीति सधैँजसो विवादमा रहन्छ । पुराना दलहरूको पदप्रतिको आशक्ति र जनताको वितृष्णाले गर्दा बिथोलिएको राजनीतिको अबको बाटो कस्तो बन्ला त ? यो प्रश्नको उत्तर स्थानीय निकायमा चुनाव जित्ने केही ‘स्वतन्त्र प्रतिनिधिले दिएका छन् । म जनताको पक्षमा काम गर्छु भनेर चुनावी मैदानमा उत्रन लागेको हुँ ।’

सुनिल ०७२ सालको भूकम्पमा राहत वितरण, कोरोना महामारीको समयमा प्लाज्मा थेरापीको लागि प्लाज्मा उपलब्ध गराउने कार्यमा संलग्न रहेका थिए । उनी लायन्स क्लब अफ काठमाडौं दियालोका संस्थापक अध्यक्ष पनि हुन् । दियालो क्लबले  हामी नेपाल संस्थासँग मिलेर नेपालमा प्रथम पटक “प्लाज्मा बैंक नेपाल” को अवधारणा अघि सारेको थियो । कोरोनाको समयमा सबै घररघरमा रहेको अवस्थामा सुनिल रिजाल लगायतका समूह कोरोनाबाट निको भएका व्यक्तीको खोजि गर्दै प्लाज्मा उपलब्ध गराउने कार्यमा निरन्तर लागिरहे । कोरोनाका समयमा विपन्नलाई निशुल्क खाना खुवाउने र अस्पतालमा कोरोना भाइरसका गम्भीर बिरामीका लागि अक्सिजन वितरण साथै  रगत उपलब्ध गराउने अभियानमा पनि उनी सक्रिय थिए ।

उनी लायन्स क्लब बाहेक अन्य सामाजिक संस्थाहरुसँग पनि आवद्ध रहेका छन् । उनी आफ्नो सेवामा रहेर पनि निरन्तर सामाजिक कार्यमा लागिपर्ने एक उदाहरणीय व्यक्ती हुन् ।

सुनिल पछिल्लो समय काठमाडौँ महानगरका मेयर बालेन शाहको हमसकल भनेर चर्चामा आएका छन् । दुवैजनामा धेरै कुरा मिल्न गएको प्रतिक्रिया पनि आईरहेको छ । उनी दुवै जनाको समाजमा आफ्नै पहिचान रहेको बताउदै कार्य क्षेत्रमा खरो उत्रने बालेनको बानीलाई आफुले पनि सर्हाउदै आएको र आफुले समाजमा गरेर देखाएको कामको जनताले मुल्यांकन गर्ने विश्वास व्यक्त गरे ।  

पछिल्लो समय युवा वर्ग राजनीतिमा आउने क्रम बढ्दो रहेकोको खुशी व्यक्त गर्दै उनी भन्छन् ’युवा वर्ग राजनीतिमा आउनु सकरात्मक छ, अब राजनीतिमा पाइला टेक्दै गरेका युवाहरुलाई सबैली साथ र सहयोग गरेर नयाँ इतिहास कायम गर्नु जनताको दायित्व हो भन्ने लाग्छ । पछिल्लो समय युवा वर्ग राजनीतिमा आउने क्रम बढेकोमा  खुशी लागेको छ ।’ 

संघ र प्रदेशको चुनावको मिति अझै तोकिएको छैन ।  सत्तारुढ दलहरुबीच कात्तिक अन्तिम वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी छलफल अघि बढेको छ । यद्यपी  यतिबेला थुप्रै गैरराजनीतिक व्यक्तिहरूले चुनावमा होमिने उदघोष गरेका छन् ।  स्वतन्त्र पक्षधरमा पनि राजनीतिक लहड र लहर दुवै पुनः सुरु भएको छ ।