कोरोना र हैजाको त्रास बढ्यो
News Desk
Jul-03 , 2022 तारिख 10:49 बिहान

काठमाडौं ─ १९ असार २०७९

काठमाडौं, पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । भारतमा संक्रमण बढ्नु तथा नेपालमा नै संक्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले संक्रमण बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढेको बताए । उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको संक्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ । ‘भारतमा जुन हिसाबले संक्रमण बढेको थियो । सोहीअनुसार नेपालमा अहिले संक्रमण धेरै नै बढेको हुनुपर्ने हो’,उनले भने, ‘तर नेपालमा भारतमा बढेको जस्तो भने बढेको छैन ।’ नेपालमा कोरोना भाइरसको संक्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । संक्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन् । अहिले २९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा संक्रमण भएकामा हिजो असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा संक्रमण देखिएको छ । असार १७ गते ५० जनामा संक्रमण देखिएको छ ।

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका छन् । अहिले २९१ जन होम आइसोलेशन, छ जना संस्थागत आइसोलेशन र तीन जना सघन उपचार कक्ष (आइसियु)मा रहेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा संक्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए । भारतबाट नेपालमा आउने मानिसमा संक्रमण देखिएको उनको भनाइ छ । ‘संक्रमण बढे पनि तर ग्राफमा ठूलो नदेखिएको हो’, उनले भने, ‘तर हामीले जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्दछ ।’ उनले अहिले देखिएको संक्रमणमा ओमिक्रोन भेरियन्ट (BA 4 वा BA 5 U) प्रजातिको हो वा होइन भन्नेबारेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन भइरहेको बताए । ‘अहिले देखिएका संक्रमणमा ओमिक्रोन भेरियन्ट नयाँ हो वा होइन भनेर हामीले जीन सिक्वेन्सिङ गरिरहेका छौँ’, उनले भने, ‘एक दुई दिनमा रिपोर्ट आएपछि थाहा हुन्छ ।’नेपालमा अहिलेसम्म ओमिक्रोनको BA 2 प्रजातिको भेरियन्ट रहेको छ । उनका अनुसार अहिलेका बिरामीमा पहिलेका सङ्क्रमतिलाई जस्तै सामान्य लक्षण रहेको छ ।
काठमाडौं उपत्यकामा थप ३ जनामा हैजा पुष्टि
काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो । असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो । हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ ।

धेरै पढिएको