कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
News Desk
Jul-12 , 2022 तारिख 11:52 बिहान

काठमाडौँ ─ २८ असार २०७९

काठमाडौँ, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री समेत रहेका आफ्नै पार्टी कांग्रेसका सभापति शेरबहादुर देउवालाई १२ बुँदे ध्यानाकर्षण गराउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीलाई किन निरन्तरता खोजेको हो ? भनि प्रश्न गरेका छन् । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रीय समिति बैठकमा उनले सभापति देउवालाई यस्तो प्रश्न गरेका हुन् । उनले स्थानीय तहको निर्वाचनमा गरिएको गठबन्धनले कांग्रेसलाई नभई अरुलाई मात्र फाइदा पुगेको भन्दै आगामी निर्वाचनका लागि गम्भीर हुनुपर्ने बताएका छन् । उनले चुनावी तालमेलबाट अरुले फाइदा उठाएको तर, कांग्रेसले आफ्नै सिद्धान्त भुलेको स्मरण गराएका थिए । कोइरालाले सभापति देउवाले आफ्नो पछाडि सुराकी खटाएको पनि आरोप लगाएका छन् । सभापति देउवाले एकलौटी ढंगले पार्टी चलाएको र आफ्नो पछाडि सुराकी खटाएको उनले बताए् ।

महाधिवेशन प्रतिनिधिको भावनाविपरीत पार्टी चलाएको उल्लेख गर्दै कोइरालाले भने, ‘महाधिवेशनमा हामीलाई ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत दिएका हुन् । सभापतिजीले ती ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनाविपरीत प्रतिस्पर्धीलाई निरन्तर अन्याय गरिरहनुभएको छ । महाधिवेशनपछि सभापतिजीले पार्टी एकलौटी ढंगले चलाउनु मात्र भएको छैन, मेरो पछाडि सुराकी खटाउनु भएको छ । स्थानीय चुनावमा पनि मेरो पछाडि सभापतिजीले खटाउनु भएका सुराकी थिए ।’ कोइरालाले कांग्रेस गठबन्धनको जगमा पहिलो पार्टी नबनेको पनि बताएका छन् । एक्लै लडेको ठाउँमा पार्टीले धेरै जितेको भन्दै उनले गठबन्धन नगर्दै फाइदा हुने बताए । उनले अगाडि भने, ‘स्थानीय तहको निर्वाचनमा ठाउँठाउँमा गठबन्धन भए पनि एक्लै लडेको ठाउँमा पार्टीले धेरै जितेको छ । त्यसैमा पार्टीलाई फाइदा छ । जसरी अहिले गठबन्धनको जगमा कांग्रेस पहिलो पार्टी बनेको प्रचार गरिएको छ, यथार्थ त्यस्तो होइन । एक्लै लडेका ठाउँमा धेरै जितिएकाले कसरी गठबन्धनको जगमा पार्टी पहिलो बन्यो ?’

संवैधानिक परिषद् विधेयक फिर्ता लिन माग केन्द्रीय सदस्य कोइरालाले संवैधानिक परिषद् विधेयक फिर्ता लिनुपर्ने बताएका छन् । केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा पुगेका कोइरालाले उक्त विधेयक फिर्ता लिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक नियुक्ति गर्न सक्ने प्रावधान राखेर विधेयक ल्याएको विषयमा चौतर्फी विरोध भईरहेको बेला कोइरालाले सो प्रतिक्रिया दिएका हुन् । ‘केपी ओली नेतृत्वको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउँदा चर्को विरोध गर्ने गर्ने कांग्रेस अहिले विगतकोभन्दा बढी निरंकुश र संविधान प्रतिकुल प्रावधान भएको कानुन बनाउन अघि सरेको छ,’ कोइरालले भने, ‘यसले के देखाउँछ भने पात्र फेरियो प्रवृत्ति उस्तै रहयो, यो विधेयक फिर्ता लिनुपर्छ ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही प्रावधान राखेर विधेयक ल्याउँदा सभापति देउवाले विरोध गरेका थिए । तर, अहिले उनैले सो प्रावधान समेटेर विधेयक दर्ता गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध गरेका छन् ।

कांग्रेस बैठकमा केन्द्रीय परिचालन समितिको प्रतिवेदन प्रस्तुत नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गरिएको छ । सोमबार भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्तावहरू र प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा आज केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल, दिनेश कोइरालाले आ–आफ्नो धारणा राखेका थिए । यसैगरी बैठकमा आमन्त्रित पार्टीका प्रदेश सभापतिहरु उद्धव थापा, कृष्णप्रसाद यादव, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मा, अमरसिंह पुन, ललितजङ्ग शाही र वीरबहादुर बलायरले आफ्नो धारणा व्यक्त गरेका थिए । केन्द्रीय कार्यसमितिको बैठक यही असार २८ गते दिउँसो १ बजे पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

धेरै पढिएको