News Desk
काठमाडाैं । असोज १ गते देखी सहुलियत पसल सञ्चालनमा आउने भएको छ । दशैं लगायतका ठूला चाडपर्वलाई लक्षित गरी सरकारले छुट सुविधासहितको उक्त सहुलियत पसल सञ्चालनमा ल्याउन लागेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थासहितको सहभागितामा छठ पर्वसम्म ४५ दिन सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनााएको छ ।
सहुलियत पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आटा, नुन, पनिर, घ्यु, जिउँदा खसी बोका र च्यांग्रा लगायतका वस्तु बिक्रीमा हुनेछन् ।
यस्ता पसलमा बस्तु अनुसार २ रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट पाइने छ ।
काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सुपथ मूल्य पसलमा चामल, दाल, तेल, आँटा र मैदामा प्रतिकिलो तथा प्रतिलिटरमा ७ रुपैयाँ छुट पाइने छ । कर्णालीको सीमी तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ, जिउँदा खसी बोका र च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट पाईने छ ।
नुन किलोमा २ रुपैयाँ, घिउ किलोमा ५० रुपैयाँ, पनिर र चिजमा प्रतिकिलो २०/२० रुपैयाँ छुट पाइने छ ।
दशैँको घटस्थापनादेखि तिहारसम्म दहीमा प्रतिलिटरमा १० रुपैयाँ छुट पाइने छ । यस्ता पसलहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनीले रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सञ्चालन गर्ने छ ।
उपत्यका बाहिर साल्ट ट्रेडिङले खाद्य र दुग्ध विकास संस्थानसँग मिलेर ३८ स्थानमा सहुलियत पसल सञचालन गर्ने छ ।