News Desk
डि एन घिसिङ/ सिडनी । नेपाली मुलका अनन्त कुमार घिसिङ(दिपक ) ले लेबर पार्टीका तर्फबाट काउन्सिलर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले सालिसबरीको सेन्ट्रल निर्वाचन क्षेत्रमा काउन्सिलरको लागि आईतबार उम्मेदवारी दर्ता गराएका हुन । सन् २००९ मा अष्ट्रेलिया प्रवेश गरेका अनन्त शुरुदेखि नै सामाजिक अभियानहरुमा सकृय छन् । नेपाली समुदायबाट उनले देखाउदै आएको सक्रियताको चौतर्फी तारिफ समेत हुँदै आएको छ । त्यसो त नेपाल बाहेक पनि अन्य देशबाट बसाईसराई गरिआएका गैरआवासिय बासिन्दाहरु माझ समेत उनी लोकप्रिय रहेका छन् । उक्त क्षेत्रमा नेपाली समुदाय बाहेक कम्बोडियाली, भियतनामी मुलका बासिन्दा समेतको उल्लेख्य संख्यामा बसोबास रहदै आएको छ । लेबर पार्टी त्यहाँको सत्तासिन पार्टी हो । तसर्थ लेबर पार्टीबाट उम्मेदवार बन्दै गर्दा सांगठनिक हिसाबले पनि त्यहाँका मुलवासी समेतको मत आकर्षित हुने हुँदा उनले निर्वाचन जित्ने संभावना प्रबल रहेको छ । अनन्तले कम्तिमा पनि करिब २६०० मतान्तरले चुनाव जित्ने अडकलबाजी गरिएको छ । सामाजिक गतिविधिहरुमा सकृय उनको सुझबुझपूर्ण बानी व्यवहार अर्को सकारात्मक पक्ष हो । स्थानिय बासिन्दाहरुले आफनो कार्यशैलीको सर्हाना गर्दै आएकाले पनि चुनाव जित्नेमा आफु विश्वस्त रहेको उनले दाबी छ ।
‘म राम्रो वातावरणीय, सामाजिक र आर्थिक योजनाको प्लेटफर्ममा सालिसबरीको सेन्ट्रल शहरमा काउन्सिलरको लागि उम्मेदवारी दर्ता गराएको छु । मलाई विश्वास छ कि मेरा योजनाले यहाँको समुदायको उत्थान गर्न र सालिसबरीले पहिले नै हासिल गरिसकेका धेरै ठूला बिषयमा पनि सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । म मेरो प्रतिबद्धता पुरा गर्न ऊर्जाशिल भएर लाग्ने प्रण समेत गर्दछु’ । उनले चुनावी एजेण्डा र अभियान बारे खुलस्त पार्दै भनेका छन् । बागवानी व्यवसाय र भूमि विकास गतिविधिहरूमा संलग्न रहदै आएका अनन्तले आफ्नो सांस्कृतिक र व्यावसायिक पृष्ठभूमिले पनि सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने धारणा राख्दै आएका छन् ।
उनले आफु निर्वाचित भएमा सुधारिएको पूर्वाधार, पार्क र खुला ठाउँ व्यवस्थापनमा सहयोग गर्ने, वृद्धहरूको लागि राम्रो हेरचाह सुविधाहरू र घरेलु हिंसाको व्यापकता र जोखिम कम गर्न वकालत गर्ने बिषय अघि सारेका छन् । ‘जब म सक्रिय रूपमा सुधारिएको वातावरणीय र सामाजिक अवसरहरू पछ्याउनेछु, म सही आर्थिक वातावरणमा व्यवसायहरूलाई फस्टाउन मद्दत गर्ने महत्त्व पनि बुझ्छु। म तपाईंलाई यी महत्त्वपूर्ण मुद्दाहरू विचार गर्न र अर्को सालिसबरी काउन्सिलको चुनावमा मलाई भोट गर्न अनुरोध गर्दछु।’ मतदाताहरुसँग मत माग्ने सिलसिलामा आश्वस्त पार्दै उनले भनेका छन् ।
अनन्त एडिलेड नेपाली समाजको संस्थापक र हिमालयन बहुसांस्कृतिक संघको सदस्य हुन । दक्षिण अष्ट्रेलिया समुदाय माझ बहुसांस्कृतिकता र एकतालाई सुधार गर्ने कुरामा जोड दिदै आएकाले पनि उनको जित सुनिस्चित देखिन्छ ।