थिती बसाउछु भन्ने बालेन कतै वेथितीको चंगुलमा त फस्दै छैनन् ?
News Desk
Sep-17 , 2022 तारिख 01:02 बेलुका

 

-सरोज ओझा 

बालेन तिमीले  थिति बसाउछु भन्यौ, विकास दिन्छु भन्यौ, सुशासन ल्याउछु आदी  कुरा गर्छु भन्यौ ।  अरुले पनि त्यसै नै भन्थे तर महानगरबासीमा दलहरुप्रतिको बढदो वितृष्णा  र तिम्रो इन्जिनियरिङ पढाई, वाककलासहितको बौद्धिक छवि, र्याप कला, मिडियाको साथ र युवा क्रेज आदी गुण-यवको समिश्रणले तिमी भारी मतले विजयी भयौ । तिम्रो विजयले महानगरबासीको मुहारमा मुस्कान ल्याएकै हो ।तर पछिल्ला दिनहरुमा जसरी तिमीले अवैध संरचना भत्काउने काम अगाडी  बढाएका छौ त्यो सर्हानायोग्य नै छ । तर त्यसको जस लिने होडबाजीमा वडाध्यक्षहरु समेत मैदानमा उत्रिएको देखिन्छ । हुन त तिमी एक्लै पनि महानगरका निर्णायक होईनौ ।  यद्यपि तिमी अगुवा भएकाले त्यसको जस अपजस तिमीले लिनुपर्छ । हेक्का रहोस् विकासको लागि गरेको त हो भनेर दुनियाँको घर उजाडने अधिकार न तिमीलाई छ, न अरु कसैलाई । त्यसैले कसले बढि काम देखाउने भनेर हुन सक्ने अस्वच्छ प्रतिस्पर्धा र अन्य रिसईबीजन्य कारणबाट हुन सक्ने दोहन वा व्यक्तिगत सम्पत्तीको खतीको बिषयमा तिमीले विवेक पुर्याउन जरुरी छ ।  

अर्कोतर्फ अहिले भाईरल बन्ने मोहले कामहरु हुन थाल्यो भन्ने पनि कुरा उठेको छ ।  यसमा सतप्रतिशत सत्यता त पक्कै छैन् ।  किनकी, जनप्रतिनिधी भएपछी विकास निर्माणसँग सम्बन्धी  काम गर्नुपर्छ नै । काम गर्दा जसअपजस दुवै आउँछ । अहिले काठमाडौं महानगरले पनि जस अपजस दुवै पाईरहेको छ । कदंकदाचित केही वडाध्यक्ष वा महानगर प्रहरीले यसलाई भाईरल बन्ने अवसरका रुपमा लिन  पुगे भने पक्कै पनि महानगरको धरातल भासिने छ ।  

यदि  कसैले महानगरभित्र फराकिलो सडक  चाहिन्छ, टोल छिमेकमा एम्बुलेन्स छिर्नेसम्मको त बाटो हुनैपर्छ भन्ने मान्यता राख्छ भने त्यो स्वभाविक रुपमा राम्रो कुरा हो । यदि सडक छेउमा कसैको घर वा जग्गा छ र पटक पटक सडक विस्तारसँगै क्षेत्रफल घटन पुगेको तर चलनचल्तीको मुअब्जा पनि छैन,  उठिबासै लाग्छ भने त्यसमा विचार पुर्याउनै पर्छ र कसैको निजी सम्पत्ति माथि अनाहक डोजर चलाउन पाईदैन् । अदालतले दिएको आदेश विपरित बिना मुअब्जा घरै भत्काईनु पनि कदापि न्यायोचित मान्न सकिदैन् । हो अरु बदमास थिए होलान्, केही गर्न सकेनन होला तर जनमत लिएर आएको छु भन्दैमा जनता रुवाउने अधिकार कसैलाई छैन् । 

न त मेयर, न त वडाध्यक्ष जनताको जनाधारको गलत व्याख्या गर्ने र आफु अनुकुल काम गर्ने छुट कसैलाई पनि छैन्  ।  

यस बिषयमा काठमाडौं  महानगरका मेयर बालेन शाह गम्भिर बन्नुपर्ने देखिएको छ ।जुन अभियान उनले थालनी गरेका छन्                                     अहिले त्यो वडा तहबाट वडाध्यक्षको जोडबलमा संरचनाहरु भत्काईएको छ । महानगरको प्रमुखको हैसियतले बालेन शाहले वडाध्यक्षहरुलाई नगर प्रहरीको आड लगाएर खटाउँदै गर्दा जसरी पनि संरचनाहरु भत्काउनैपर्ने खालको आशय उनीहरुको रहने गरेको सुनिन्छ । प्रकृया र पद्धतीको कुरा ३५ दिने सुचनामा टुंग्याउदै डोजर लगाई  हाल्न उर्दी जारी गरिन्छ ।  न त कागजात हेर्नु,  न त हकवालाको कुरा सुन्नु, मुडे बल त्यहाँ     प्रदर्शन हुन्छ ।  रमितेहरु ताली पिटने आदी काममा मस्त रहन्छन्  ।  शायद अरुको सम्पत्ती भएर पो हो कि, मान्छेले एकतर्फी स्टारडमलाई सर्हाएको ? 

यहाँ भित्री कथा र वेदना पनि उस्तै छन्  ।व्यक्तिगत वा  दलिय स्वार्थमा लागेर वडाध्यक्षहरुले प्रतिशोध साँधेको पनि हुन सक्छ ।  त्यसैले त्यसतर्फ पनि मेयर शाहको ध्यान जान जरुरी  छ ।  अन्यथा तिमी असफल बन्नेछौ ।  तर आम जनता तिमी सफल भएको हेर्न चाहन्छन् ।  तिमी अघि बढेको हेर्न चाहना धेरै महानगरबासीमा छ ।  तिमी रोकिनुपर्छ भन्ने हाम्रो न त मनशाय हो, न त यहाँ कोरिएका शब्दको आशय त्यो हो । जुन जोस जाँगर तिमीमा देखिन्छ, त्यसबाट जनताहरु प्रभावित छन् । तिम्रो हिम्मत र साहस धेरै तारिफ योग्य छ तर अब तिमीले आफ्नो बौद्धिकता पनि पुष्टी गर्नुपर्नेछ । होस् राख, यसमा चुक्यौ भने तिम्रो सामाजिक -राजनीतिक धरातल भासिनेछ ।  र त्यसो हुनु भनेको स्वतन्त्र राजनीतिक चेतना र अभियान निस्तेज हुनु पनि हो ।  हेक्का रहोस् त्यसो हुनु भनेको जनआशा चरम निराशामा बदलिनु पनि हो । तसर्थ  तिमी सचेत रहदै अगुवाका नाताले महानगरले थालनी गरेको ध्वंसलाई तत्काल रोकी मौका दिने गरि सुधारको प्रयास गर्नुपर्दछ ।  

सोर्हखुट्टे, हात्तीसार, जडीबुटी, अनामनगर लगायतका क्षेत्रमा रहेका वैध संरचनाहरुसमेत भत्काईएको भन्ने आवाज उठेको छ । वैध संरचनाहरुसमेत भत्काउँदा अदालतले दिएको आदेश विपरित बिना मुअब्जा घरै भत्काईएको भन्ने बिषय मानवअधिकारको दृष्‍टिले ठुलो चुक हो । सफल हुने नाममा न्याय मर्यो भने कानुनबाट त बचिएला तर पिडितको आत्माले धिक्कार्ने छ ।  


जुन रुपमा टुकुचा खोला नभई ढल भएको सन्दर्भ समेत उठेको छ, यसले महानगरको अभियानको तयारी नपुगेमो देखिन्छ । जबकी वीरशमशेरकै पालामा वि.स. १९४९ मा टुकुचा छाेपिएकाे फेला परेको छ । यसको अर्थ टुकुचा मिचियो भनेर जुन खालको चर्चा परिचर्चा भयो अहिले त्यसको ठिक विपरित सत्यतथ्य बाहिर आयो ।  टुकुचामाथि वीरशमशेरका पालामा पटाँगिनी बनाउन छाेपिएकाे र त्यसका लागि जग्गा अधिग्रहण गरिएकाे लिखित प्रमाणले पुष्टि गरेको छ । त्याे नबुझेर भूमाफियाले छाेप्याे भनेर गलत प्रचार पनि भयो । त्यसले तिम्रो तयारी कमजोर रहेको पुष्टी  गर्दछ ।

महानगरले यी संरचना भत्काउने भए त्योभन्दा अगाडि यहाँ जग्गा किनबेच गर्न अनुमति दिने सरकारी कर्मचारी, नापीनक्सा गर्ने कर्मचारी र घरको नक्सा पास गर्ने महानगरकै कर्मचारीहरु पहिले कार्वाहीको भागीदार बन्नु पर्छ । तिनलाई तिमीले दण्डित गर्नुपर्छ अनि बल्ल नागरिक तहमा कार्वाही चलाउने नैतिक बल तिमीमा रहन्छ । राज्यकै स्वीकृतिमा भएको काममा राज्यकै पदाधिकारीलाई उन्मुक्ति दिएर सर्वसाधारणलाई मात्र दण्डित गर्नुलाई कदापि न्यायोचित मान्न सकिदैन् ।  

हेक्का रहोस् हजार जनाले न्याय पाउदै गर्दा एकै जना मात्रैले पनि अन्यायमा पर्नु पर्‍यो भने त्यो कानुनी राज्यमा अमान्य वा अक्षम्य गल्ती मानिन्छ ।  

बालेनले थालनी गरेका काम मिश्रित छन् । केही राम्रा काम भएका छन् भने केही नराम्रा पनि छन् । अंडर ग्राउण्ड पार्किङको नक्सा पासगरि राजश्व छल्दै व्यापार गर्नेहरुलाई गल्हत्याईनु र फुटपाथमा व्यापार व्यवसाय गर्नेलाई धपाईनु  राम्रै मान्नुपर्दछ । तर दसैंको मुखमा नभई अन्य समयमा गर्दा राम्रो हुने थियो । राजनीति मुक्त विद्यालयको परिकल्पना यसले तिमीमा सामाजिक र मानविय भावना कम ‘रिजल्ट ओरिएण्टेड’ बढि छौ भन्ने देखाउँदछ । हो काम प्रति प्रतिबद्ध रहनु र वचन प्रति अडिग हुनु राम्रै कुरा हो । यस मानेमा तिमीले बाटो बिरायौ भन्नु पनि न्यायोचित हुनेछैन ।  तिमीमाथि धेरै जनताको भरोसा र विश्वास पनि राख्दै आएका छन् । जनताको ‘उम्मिद’ बन्दै तिमी जसरी उदायका छौ, उसैगरि तिमीमा महानगरबासीका लागि  केही गर्नेपर्ने वाध्यता पनि छन् ।  उपमेयर, वडा अध्यक्ष र अन्य जनप्रतिनिधीको साथ पनि तिमीलाई चाहिन्छ नै । तर आफ्नो सहजताका लागि उनीहरुसँग सौदा गर्दै गयौ भने धेरै वैध, असल र  सभ्य नागरिकहरु तिमीले गुमाउने छौ । तिमीलाई हिलो छयाप्न उद्यतहरु पनि तिमीले चिन्नु पर्छ र अर्को तर्फ बालेनले आफनो गक्ष आँफैले पहिचान गर्दै अरुलाई पिडित नबनाई अघि बढनु पर्छ ।  

रोक, हेर र जाउ -बालेन

बालेनले  आँफैलाई समिक्षा गर्न जरुरी देखिन्छ । किनकी महानगरका कारणले उप्रान्त बिनाहकमा एक जनाले पनि पिडित बन्नु नपरोस भन्नका लागि  विगतका कामको समिक्षा गर्नैपर्छ । त्यसतर्फ तिमी सचेत हुनैपर्छ । अन्यथा यही पारामा कसैको कुरा नसुनी अघि बढयौ भने तिमी लहडी र स्टण्टवाला बाहेक केही साबित हुने छैनौ । त्यसैले बल मिच्याई होईन, कानुनले दिएको अधिकारको सदुपयोग गर भन्ने सुझाव तिमीलाई छ । थिती बसाउन आएका तिमी वेथितीको चंगुलमा फस्दै त छैनौ भन्ने चिन्ता महानगरबासीमा पक्कै छ ।

धेरै पढिएको