News Desk
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसहित वडा अध्यक्षहरुले डोजर आतङ्क मच्चाएको भन्दै महानगरबासीहरु विरोधमा उत्रिएका छन् । काठमाडौँ बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय बासिन्दाहरु शनिवार साँझ नाराबाजी सहित प्रदर्शनमै उत्रिए ।
प्रदर्शनकारीहरूले प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका हुन । ‘डोजर आतङ्क बन्द गर’ ‘नेवा विरोधी होसियार’ जस्ता नाराबाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका उनीहरुले मेयर साहको पुत्ला पनि जलाएका छन्। सो क्रममा आक्रोशित स्थानीय बासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध समेत नाराबाजी गरेका छन् ।
महानगरपालिकाले गत शुक्रवार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय बासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायामीलगायत पुगेका थिए । मन्तब्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौँ महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए ।
हाल मेयर साह, उग्र वडाध्यक्षको छवि बनाएका वडा १६ का वडाध्यक्ष मुकुन्द रिजाल र अन्य केही वडाका वडाध्यक्ष, महानगरको प्रहरी प्रमुख राजु पाण्डेले सस्तो लोकप्रियताका लागि फिल्मी शैलीमा उत्रिएको दाबी आक्रोशित स्थानियको छ । उनीहरुकै कारण एकपछि अर्को गर्दै महानगरबासीहरु पिडित बन्नु परेको गुनासो उनीहरुले गरेका छन् । जनस्तरमा त्रास र आक्रोश बढेसँगै स्थानियहरु थप रुपमा आन्दोलित बन्न सक्ने संभावना बढेर गएको स्थानिय बुद्धीजिवीहरु बताउँछन् ।