सन्दीपलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
News Desk
Oct-10 , 2022 तारिख 01:18 बेलुका

काठमाडौँ  ।जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न  अनुमति दिएको छ ।  अदालतले२० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो । दसैं बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमबार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।

उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ ।  कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

सोमबार जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए । सन्दीपले इजलासमा आफू निर्दोष रहेको प्रमाणहरु प्रस्तुत गरेको घिमिरेले बताए । अब लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिने छ ।

 

धेरै पढिएको