उपत्यकामा ठूला दलका चर्चित अनुहार, स्वतन्त्रमा अभियानकर्मीदेखी विभिन्न पेशााकर्मीसम्म  
News Desk
Oct-10 , 2022 तारिख 04:52 बेलुका

काठमाडौँ ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपत्यकामा ठूला दलबाट प्रायः पुरानै चर्चित अनुहार छन् । ति मध्ये अधिकांश राष्टिय राजनीतिमा प्रभाव पार्न सक्ने नै छन् । यसपाली पनि २०७४ को संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका ठूला दलका उम्मेदवार नै अधिकांश क्षेत्रमा दोहोरिएको पाईन्छ ।त्यस्तै, स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गर्नेमा अभियानकर्मी, खेलाडी, कलाकार र विभिन्न पेसामा संलग्न व्यक्तिहरु छन् । 

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले काठमाण्डौं निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका छन् । यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा उनले झिनो मतान्तरमा विवेकशील पार्टीका रवीन्द्र मिश्रलाई पराजित गरेका थिए । मिश्र यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा मिश्र साझा पार्टीबाट उम्मेदवार भएका थिए । उक्त क्षेत्रबाट एमालेले भ्रातृ संगठन युवासंघका अध्यक्ष किरण पौडेललाई उठाएको छ । पूर्व प्रहरी नायब महानिरिक्षक रमेश खरेलले सोही क्षेत्रबाट सुशासन पार्टीकातर्फबाट उम्मेदवारी दिएका छन् ।  त्यस्तै काठमाण्डौं १ बाट पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सिंह, राप्रपाका मिश्र, सुशासन पार्टीका रमेश खरेलबीच रोचक भिडन्त हुने देखिएको छ ।

यता काठमाडौं २ बाट माओवादीबाट ओनसरी घर्तीले उम्मेदवारी दर्ता गराएकी छन् । घर्ती २०६४ को संविधानसभामा समानुपातिक सांसद थिइन् । २०७० को संविधानसभामा भने उनी रोल्पा २ बाट निर्वाचित भएकी थिइन् । उक्त क्षेत्रमा एमालेले मणिराम फुयाललाई उम्मेदवार बनाएको छ । 


कांग्रेस महामन्त्री गगन थापा काठमाडौं–४ बाट उम्मेदवार बनेका छन् ।  थापा २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।  उक्त क्षेत्रमा एमालेबाट राजन भट्टराई उम्मेदवार बनेका छन्। २०७४ को निर्वाचनमा पनि थापा र भट्टराईबीच प्रतिस्पर्धा भएको थियो । 

काठमाडौं ५ मा भने एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । पौडेल तनहुँ २ बाट उठ्ने चर्चा भए पनि उक्त क्षेत्रमा पार्टिले पूर्व मन्त्री शंकर भण्डारीलाई टिकट दिई पौडेललाई काठमाडौं ५ मा उम्मेदवार बनाएको हो । २०७४ को निर्वाचनमा एमालेका पोखरेल उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । त्यतिबेला कांग्रेस नेता प्रकाशशरण महत उनका प्रतिद्धन्दी थिए । महत अहिले समानुपातिकमा बसेका छन् ।

काठमाडौं ६ मा गठबन्धनबाट पूर्व रक्षा मन्त्री कांग्रेसका भिमसेन दास प्रधान साझा उम्मेदवार छन् भने पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल एमालेबाट उम्मेदवार बनेका छन् । 

काठमाडौं ७ मा कांग्रेससहितको गठबन्धनका तर्फबाट माओवादीबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई एवं पूर्व मन्त्री हिसिला यमीकी छोरी मानुषी यमी भट्टराई उम्मेदवार बनेकी छन् । एमालेले उक्त क्षेत्रमा श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा माओवादीबाट राप्रपा प्रवेश गरेका ध्रुवविक्रम मल्लले राप्रपाबाट उम्मेदवारी दिएका छन् ।एमालेका निवर्तमान सांसद रामवीर मानन्धरले काठमाडौं–७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।  २०७० को दोस्रो संविधानसभा निर्वाचन तथा २०७४ को संसदीय निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट विजयी भएका थिए ।  काठमाडौं–७ मा अभियन्ता ईश्वर अर्यालको पनि स्वतन्त्र उम्मेदवारी परेको छ । नेपाल चिनाउने अभियान अन्तर्गत आफ्नै खर्चमा नेपालको नक्सा वितरण गरेका उनी पछिल्लो समय चर्चामा छन् । 

 त्यस्तै, एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले काठमाडौं ८ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । 

 काठमाडौं ९ मा एमालेबाट कृष्णगोपाल श्रेष्ठ उम्मेदवार बनेका छन् । यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए । काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसीले उम्मेदवारी दर्ता गराएका छन् । माओवादी–समाजवादीसहितको गठबन्धनको समर्थनमा उठेका केसी यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी स्थायी कमिटी सदस्य अञ्जना विशंखेले भने उनी विरुद्ध बागी उम्मेदवारी दर्ता गराएकी छन् ।

ललितपुर १ मा कांग्रेसबाट पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणा र एमालेबाट पूर्व नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवालको उम्मेदवारी परेको छ । यि दुईबीच दोस्रो पटक भिडन्त हुन लागेको हो । २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट सिलवाल विजयी बनेका थिए भने २०७० को निर्वाचनमा राणा विजयी भएका थिए । 
 
ललितपुर २ मा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार बनेका छन् भने एमालेबाट प्रेमबहादुर महर्जन उठेका छन्।
ललितपुर ३ बाट माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले उम्मेदवारी दिएकी छिन् । भुसालले २०७४ सालको संसदीय निर्वाचनमा सोही क्षेत्रबाट सांसद जितेकी थिइन् । 

भक्तपुर १ मा एमाले नेता महेश बस्नेत र कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले उम्मेदवारी दिएका छन् । बस्नेत यसअघि पनि सोही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । त्यस्तै, नेपाल मजदुर किसान पार्टीको प्रभाव क्षेत्र भक्तपुर क्षेत्र नम्बर २ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले उम्मेदवारी दिएका छन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उक्त क्षेत्रमा  सुनील गोथे ९बासु० ले माओवादीबाट उम्मेदवारी दिएका छन् । 

अघिल्ला निर्वाचन भन्दा यस पटक काठमाडौंमा स्वतन्त्र उम्मेदवारको संख्या निकै बढि छ । निर्वाचन आयोगले आइतबार राति अबेरसम्म दिएको विवरणअनुसार काठमाडौं १ र २ मा मात्र क्रमशः १२ र ११ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै काठमाडौं ४ र ७ मा क्रमशः १७ र १६ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । आयोगका अनुसार  अन्य क्षेत्रमा पनि स्वतन्त्रको संख्या उल्लेख्य रहेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उठेकी रञ्जु दर्शनाले काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् । साझा पार्टीका मिलन पाण्डेले काठमाडौं ९ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । 

धेरै पढिएको