News Desk
सिन्धुली । टीबीएम मेसिन जडानसँगै सुनकोसी मरिण डाइभर्सनको सुरुङ खन्ने काम शुक्रबारबाट सुरु भएको छ । दुई सय ३० मिटर लामो टनेल बोरिङ मेसिन (टीबीएम) को प्लेटफर्म तयार गरि जडान गरेपछि सुरुङ खन्न थालिएको हो ।
सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार यो आधुनिक मेसिनको प्रविधिबाट ठेकेदार चाइना ओभरसिज कम्पनीले दुई वर्षभित्रमा सुरुङ निर्माणको काम सक्नेछ । मरिणबाट १३ दशमलव तीन किलोमिटर सुरुङ खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्री नजिक सुनकोसी नदीमा पुग्नेछ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणीभन्दा सात सय मिटर तल पर्छ । टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहने गरी ६–६ डायमिटर खनिने छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजनास्थलको निरीक्षण गरेपछि सुरुङको काम थालिएको हो । चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजका प्राविधिकहरुले मन्त्री भुषाल समक्ष टीबीएम मेसिन सञ्चालन गरेर देखाएका थिए ।