माओवादी केन्द्रद्वारा चुनाव लक्षित विशेष सर्कुलर, कांग्रेसको केन्द्रीय परिचालन समिति गठन
News Desk
Oct-17 , 2022 तारिख 11:56 बिहान

काठमाडौं। आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर नेकपा माओवादी केन्द्रले मातहतका कमिटीमा ३ बुँदे विशेष सर्कुलर जारी गरेको छ । पार्टीका प्रदेश र जिल्ला समितिका इन्चार्ज, अध्यक्ष एवम् संयोजकलाई सम्बोधन गरेर अध्यक्ष प्रचण्डले आइतबार पठाएको सर्कुलरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी दुबै एउटै चुनाव चिह्न गोलाकार भित्रको हँसिया हथौडा रहेको स्मरण गराउँदै सबै प्रदेश र जिल्लाहरूले आपसी सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएको बताइएको छ।
दुबै पार्टीका प्रदेश, जिल्ला र स्थानीय स्तरका नेतृत्वका बीचमा विशेष समन्वय संरचना निर्माण गर्न पनि प्रचण्डले सर्कुलरमार्फत निर्देशन दिएका छन् । यस्तै गठबन्धनका निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रमहरूमा सम्भव भएसम्मका प्रदेश र जिल्लामा दुबै पार्टीका प्रतिनिधित्व हुने गरी एकरुपतामा सहभागी हुन पनि प्रचण्डले निर्देशन दिएका छन् ।


यसैगरी पाँच दलीय गठबन्धनको असोज २७ गतेको निर्णयअनुसार अघि बढ्न माओवादीले मातहतका कमिटीलाई निर्देशन दिएको छ । जसअनुसार गठबन्धनका तर्फबाट संयुक्त अपिल प्रकाशन गर्न समिति गठन गर्ने, गठबन्धनका दलहरूलाई प्रभावकारी रुपमा परिचालन गर्न केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठबन्धन गर्ने, जिल्लाको आवश्यकताअनुसार गठबन्धनका दलहरुबीच छलफल गरी आवश्यकताअनुसारका अन्य समितिहरु गठन गर्ने र सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताहरु सहभागी हुनेगरी कात्तिक ४ देखि ७ गतेसम्म संयुक्त भेला आयोजना गर्ने निर्णय छ ।
 

निर्वाचनका लागि कांग्रेसको केन्द्रीय परिचालन समिति गठन
यसैगरि नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति’ गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा एक सय १० सदस्यीय परिचालन समिति गठन गरेका हुन् ।

धेरै पढिएको