समाजसेवी मैयादेवी श्रेष्ठको निधन 
News Desk
Oct-23 , 2022 तारिख 11:56 बिहान


चितवन । समाजसेवी मैयादेवी श्रेष्ठको शनिबार राति निधन भएको छ । समाजसेवामा श्रेष्ठ दानवीरका नामले परिचित छिन् । भरतपुरमा मैया, कन्या कलेजको १२ कट्ठा जमिन र भवन बनाउने सबै खर्च उनले नै बेहोरेकी थिईन। उनले नारायणगढको बालकुमारी कन्या स्कुललाई १० कट्ठा जग्गा दानमा दिएकी थिइन् । नेपाली कांग्रेस पार्टी र अनेकौं व्यक्तिहरुलाई समेत उनले भूमिदान गरेकी छन् । चितवन कांग्रेसले उनैले दिएको नारायणगढको जग्गामा जिल्ला पार्टी कार्यालय बनाएको छ ।

काठमाडौं रविभवनमा ८० लाखमा किनेको घर मैयादेवी श्रेष्ठले ५५ सालको पुस १९ मा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका लागि दान गरेकी थिइन् । ‘म सानैदेखि दिने स्वभावकी थिएँ । बिहानभर आमाले लगाईदिएको चुरा पनि बाँडेर सक्थे रे, थालाभरि दिएको खाजा पनि सप्पै बाँडेर आउँथे रे’ उनको बारेमा लेखिएको एक किताबमा मैयादेवीले भनेकी छन् ।

मैयादेवी धार्मिक स्वभावकी थिइन् । उनी देवघाट बस्ने, तीर्थ, धाम घुम्ने गर्दथिइन् । मैयादेवीले ७२ सालको भदौमा मैयादेवी ट्रष्ट बनाएर नारायणगढ मेनरोड पुतलीबजार चोकको आफ्नो तीन तले घर सोही ट्रष्टलाई हस्तान्तरण गरेकी थिइन् । त्यो घर बाहेक उनले सो ट्रष्टका लागि भनेर थप दुई करोड रुपैयाँ नगद पनि दान गरेकी थिइन् ।


१९८५ सालमा तनहुँ बन्दीपुरमा जन्मेकी श्रेष्ठ बाल्यकालमै चितवन आइन् । कांग्रेसको राजनीतिमा सक्रिय उनी २०४८ सालको निर्वाचनमा तत्कालीन गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । श्रेष्ठको गए राति सवा एक बजेतिर निधन भएको चितवन कांग्रेस सभापति राजेश्वर खनालले जानकारी दिए ।

धेरै पढिएको