News Desk
ललितपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाले जनविश्वास नै चुनाव जित्ने आधार भएको बताउनुभएको छ । मंगलबार टौखेल स्थित गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीको निवासमा आयोजित देउसी भैली कार्यक्रमलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ०१ बाट उम्मेदवार बन्नुभएका राणाले
आसन्न निर्वाचनलाई लक्षित गर्दै सो कुरा बताउनुभएको हो । ‘हामीले विगतमा जनताको विश्वास जित्ने गरि काम गर्दै आएका छौँ, त्यही जनविश्वास नै हाम्रो चुनाव जित्ने आधार हो ।’ उहाँले भन्नुभयो ‘५ दलिय गठबन्धनले अझ हामीलाई सहज बनाएको छ, यद्यपि हाम्रो आधार जनता भएकाले जनता माझ गएर हाम्रा एजेण्डाको बिषयमा जानकारी गराउने, जनताका अपेक्षा र चाहना बुझ्ने, हामीले गर्न सक्ने कामका बिषयमा प्रतिबद्धता व्यक्त गर्ने काम तपाईं सबै शुभेच्छुक एवम् कार्यकर्ताहरुले गर्नु होला, म यस क्षेत्रको विकासका निम्ती समर्पित भएर लाग्ने नै छु ।’
यसैगरि, राणाले आफु गोदावरी र कोडकु खोलाको पानी खेलाएर हुर्किएको बताउनुहुँदै सांसद चुनिएपछि आफनो निर्वाचन क्षेत्रको विकासको निम्ती कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै, उहाँले देउसी भैली कार्यक्रममा सहभागी हुन पाउँदा आफुलाई खुशी लागेको बताउनुहुँदै तिहार, नेपाल संवत र छठ पर्वको शुभकामना समेत व्यक्त गर्नुभयो । कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर अधिकारी लगायतका कांग्रेस नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।