News Desk
वीरगञ्ज - लोकतान्त्रिक बाम गठबन्धनबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) मा माओबादी केन्द्रका प्रदेशसभा सदस्य पदका उम्मेदवार रहबर अंसारीको पक्षमा मतदान आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त सुरु गरेको ‘हर घर, रहबर’ अभियानको टोली मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर ३२ चोरनीमा पुगेको छ । टोलीले चोरनीको घरघरमा पुगेर उम्मेद्वार अंसारीको पक्षमा मतदान गर्न आग्रह गरेको छ । चोरनीका मतदाताले उम्मेद्वार अंसारीलाई घरघरमा स्वागत गर्दै फुल माला र अबिर लगाइदिएर विजयको आशिर्वाद दिएका छन् ।
यस क्षेत्रबाट यसअघि निर्वाचित भएर गएका प्रदेशसभा सदस्यले क्षेत्र र जनताका लागि केहिपनि नगरेको आरोप लगाउँदै विकल्पका रुपमा अंसारीलाई चुनेको स्थानीयहरुले बताए । अंसारीले पनि आफू जनताको हकहितका लागि काम गर्ने बताउँदै आफूलाई निर्वाचित गराएर पठाउन आग्रह गरे । उनले पर्सा जिल्लाको समग्र विकासका लागि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेकोले यसपालि लोकतन्त्रको पक्षमा मतदान गर्न आग्रह गरे । घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको छ ।