News Desk
वीरगञ्ज - जनताको समर्थन पाएर यसअघि पनि निर्वाचित भइसकेका प्रदेशसभा सदस्य रमेश प्रसाद d जित दोहोर्याउने दाउमा छन् । पाँच वर्षसम्म जनताको प्रतिनिधिका रुपमा सडकदेखि सदनसम्म आवाज उठाउँदै आएका पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य कुर्मीले यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार दिएर जित दोहोर्याउन लागेका छन् । आफूले गरेको विकास निर्माणको कामलाई आफ्नो प्रमुख अजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएका कुर्मीलाई जनसमर्थन पनि सोही अनुसार पाइरहेको छ ।
घरदैलो क्रममा होस् अथवा चुनावी भेला तथा सभाका क्रममा मतदाताहरुले नै उनलाई पुन: जिताएर पठाउने बताइरहेका छन् । बिहिबार बिहान पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ मा आयोजित घरदैलोका क्रममा केही यस्तै दृश्य देखियो । एकजना मतदाताले कुर्मीलाई अँगालो मार्दै भने, ‘हाम्रो क्षेत्रमा सडक, नाला, विद्यालय जस्ता आवश्यक पूर्वाधारदेखि धर्म र आस्थासँग जोडिएको मन्दिर, धर्मशाला, मस्जिदसम्म कुर्मीजीले बनाउनु भएको छ । हामी फेरीपनि उहाँ जस्तै विकासप्रेमी नेतालाई रोजेर पठाउँछौँ । उहाँ जिते हाम्रो क्षेत्रमा पुन: विकासको लहर आउँछ ।’ घरदैलोका क्रममा ठाउँठाउँमा कुर्मीलाई स्थानीयहरुले फुलमाला लगाएर स्वागत पनि गरेका थिए भने उनको पक्षमा नाराबाजी पनि गरेका थिए ।
जनताको माग अनुसार काम गरेको दावी गर्दै कुर्मी भन्छन्, ‘म जनताको सेवक हुँ, मैले आफ्नो पूर्खाहरुबाट पनि यही संस्कार पाएको छु । जनताको सेवामा मेरा बुवा, बाजेले आफ्नो जीवन बिताउनुभयो । म पनि उहाँहरुको मार्गदर्शनमा अगाडि बढिरहेको छु ।’ घरदैलो कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय कुमार चौरसिया, २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेल लगायतको सहभागिता रहेको थियो ।