अंसारीले गरे वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का मतदातासँग भेटघाट
News Desk
Nov-11 , 2022 तारिख 03:30 बेलुका

 

वीरगञ्ज - पर्साको क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य उम्मेदवार रहबर अंसारीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का मतदातासँग भेटघाट गरेका छन् । बिहिवार बेलुका मतदातासँग भेटघाट गर्दै पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार अंसारीले जनताहरुले देखेको सपनालाई सार्थकता प्रदान गर्ने बेला आएको बताए । 

माओबादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका अंसारीले लामो समयदेखि निराश र आक्रोशीत रहेका जनतालाई अब खुशी बनाउने बेला आएको बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै अंसारीले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । 

वडा नम्बर १३ का मतदातासँगको भेटघाटका क्रममा अंसारीले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन । धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब  आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ । त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ ।’

वडाबासीले पनि अंसारी जस्तै जनप्रिय नेताले जित्नुपर्ने आशयका साथ अंसारीलाई नै मतदान गर्ने प्रतिक्रिया दिएका थिए । अंसारीसँगै घरदैलोमा माओबादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेता एवम् कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

धेरै पढिएको