News Desk
वीरगञ्ज – ब्यालेटमार्फत जनमत व्यक्त हुन १० दिन बाँकी छ । मतदान गर्ने दिन नजिकिँदै जाँदा राजनितिक सरगर्मी निकै बढेको छ । यो गर्मीले धेरैको अनुहारमा पसिना छुटेको छ । पसिनाले श्रृङ्गार पखालिँदा वास्तविक अनुहार देखिएझैँ धेरै पात्रको मुखुण्डो पनि उदाङ्गो हुन थालेको छ । भनिन्छ हात्तिको देखाउने एउटा र खाने अर्कै दाँत हुन्छ । दोहोरो चरित्रलाई दर्शाउनुपर्दा आम जनमानसले यो उक्ति सम्झने गर्दछन् । यो उक्ति अहिले नेपाली कांग्रेसकी नेतृ सुष्मा तिवारी द्विवेदीसँग हुबहु मेल खाएको छ ।
राष्ट्रिय राजनितिको समिकरणमा भएको फेरबदलले गठबन्धनमा पनि परिवर्तन आएको छ । नेपाली कांग्रेस, माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा र लोसपा सहितको एउटा र नेकपा एमाले र जसपा विच अर्को गठबन्धन कायम छ । यसअघि लोसपा एमालेसँग र जसपा सरकारी गठबन्धनमा सामेल थियो । सरकारी गठबन्धनको सहमती अनुसार पर्सामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ लोसपाको भागमा परेको छ भने त्यसको उम्मेदवार हुन लक्ष्मणलाल कर्ण । तर आज लक्ष्मणलाल कर्णको पक्षमा नेपाली कांग्रेसको एउटा कण पनि उभिएको छैन । त्यसैमध्यकी एक हुन सुष्मा तिवारी द्विवेदी । पार्टी निर्णय र गठबन्धनको धर्म अनुसार उनले लक्ष्मणलाललाई जिताउन प्रचार र पहल दुवै गर्नुपर्ने हो । उनि स्वयं पर्सा कांग्रेसबाट प्रतिनिधि सभातर्फ समानुपातीक उम्मेदवार हुन ।
समानुपातीक सूचीबाट नाम हटाउन निवेदन दिएको हल्ला चलाईए पनि निर्वाचन आयोगले जारी गरेको अन्तीम नामावली सूचीमा उनको नाम समावेश छ । पार्टीको सांसद सूचीमा समावेश भईसकेको जिम्मेवार व्यक्ति भएर पनि टिकट नपाएर बागी उम्मेदवारी दिएका अजय द्विवेदीको पक्षमा उनको खुलेयाम सक्रियता देखिन्छ । उनले आफ्नो पति बागि उम्मेदवार द्विवेदीको घरदैलो कार्यक्रमको नेतृत्व गर्नुका साथै प्रचार सामाग्रि बनाउने र प्रशारण तथा प्रकाशन समेत गर्दै आएकी छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा उनी थप आक्रामक बन्दै गएकी छिन् । जसअनुसार उनले अन्य उम्मेदवारबारे काल्पनिक कथा सृजना गरी भ्रम फैलाउन थालेकी छन् भने स्वतन्त्र निकाय उपरको प्रहार पनि शुरु गरेकी छिन् । यसैक्रममा उनले वीरगंज महानगरपालिकाका प्रमुखमाथि पनि निर्वाचनको लागि तेलको कुपन बाँडेको थाहा पाएको भन्दै समाचार लेख्न दबाब दिएको वार्तालाप बाहिरिएको थियो ।
पार्टी निर्णय र गठबन्धनको विपरीत उनले यस्ता हर्कत जारी राख्दा पनि नेपाली कांग्रेसले सुष्मा तिवारी द्विवेदीलाई कारवाही गरेको देखिँदैन । अचम्मको कुरा त के छ भने नेपाली कांग्रेसका नेता कार्यकर्ताले आफ्ना उम्मेदवार लक्ष्मणलाल कर्णलाई बलिको बोका बनाएको देखिन्छ ।