नेपाल औषधी तथा बिक्रि प्रतिनिधि (एमआर) संघ वीरगञ्ज इकाई र उम्मेदवारबीच अन्तरक्रिया
News Desk
Nov-15 , 2022 तारिख 10:50 बिहान

 


वीरगञ्ज - नेपाल औषधी तथा बिक्रि प्रतिनिधि (एमआर) संघ वीरगञ्ज इकाईले उम्मेदवारसँग अन्तरक्रिया गरेको छ । पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवसँग संघले आफ्ना समस्या तथा मागका सम्बन्धमा अन्तरक्रिया गरेको हो ।

संघका अध्यक्ष मनोज साहको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका साझा उम्मेदवार यादवले संघको बृद्धि विकास र संघका समस्याहरुको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघमा आवद्ध कर्मचारीहरुको क्षमता अभिवृद्धि, पारिश्रमिक बृद्धिसँगै स्वास्थ्य बिमा एवम् जिवन बिमा जस्ता योजनाहरुको लागि आवाज उठाउने यादवको भनाई थियो । संघका कार्य प्रणालीलाई सहज बनाउनुका साथै प्रोत्साहनका लागि समयसमयमा प्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेर एकअर्काबिच सहकार्य एवम् समन्वय गरेर समाज परिवर्तनमा हातेमालो गर्नुपर्नेमा यादवले जोड दिएका थिए ।

 


संघका अध्यक्ष मनोज साहले ५३ वर्ष पूरानो संघ भएको बताउँदै यसमा झण्डै ५ सय जना युवाहरु आवद्ध भएको जानकारी दिए । आफ्नो दैनिक काममा मात्रै सिमित नभएर विभिन्न किसिमका जनचेतनामुलकदेखि अन्य सामाजिक कार्यहरु पनि संघले गर्दै आएको उनले बताए । कोभिड १९ को महामारीदेखि अन्य समयमा पनि संघले औषधी वितरण, शिविरको आयोजना, रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष साहको भनाई छ ।

अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका सचिव राम गोसाँईले संघका समस्यासँगै अन्य विषयवस्तुका बारेमा उम्मेदवार यादवलाई जानकारी गराएका थिए । साथै निर्वाचित भएपछि ति समस्याहरुको समाधानका लागि पहल गरिदिन पनि उनले आग्रह गरेका थिए ।

 


कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी, जसपाका वीरगञ्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, संघका बरिष्ठ उपाध्यक्ष कृष्ण महतो, उपाध्यक्ष रमेश गिरी, सहसचिव अजय सोनार, सदस्यहरु दिपेन्द्र कलवार, सागर गुप्ता, अजित कुशवाहा, विकास कुशवाहा, विवेक महतो, सुनिल माली लगायत संघका पदाधिकारी, सदस्यहरुसहित २ सय भन्दा बढी युवाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण संघका सहसचिव मौसमराज भट्टराईले गरेको संघका सह कोषाध्यक्ष शशीकान्त सर्राफले जानकारी दिए ।

धेरै पढिएको