News Desk
वीरगञ्ज, १ मंसिर । आगामी चैतसम्म वीरगञ्ज महानगरको मुहार फेर्ने वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले दावी गरे । वीरगञ्ज बाहिर रहेका आफन्त तथा साथीभाई वीरगञ्ज घुम्न निमन्त्रणा दिन सक्ने अवस्थाको सृजना गर्ने प्रतिबद्धता सिंहले व्यक्त गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित रहेको साउथ जोन माविले नारायणी रंगशालामा आयोजना गरेको वार्षिक खेलकुद समारोहलाई सम्बोधन गर्दै प्रमुख सिंहले विगतमा महानगरमा खेलकुदको नाममा करौडौंको भ्रष्टाचार भएको खुलासा गरे । खेलकुदको पैसामा भ्रष्टाचार हुनु दुखद भएको बताउदैं अब आफ्नो कार्यकालमा खेलकुदको बजेट सही सदुपयोग गरेर खेलाडीलाई प्रोत्साहन गर्ने बताए ।
विगतका दिनमा वीरगञ्ज महानगरपालिकाबाट खेलकुदका नाममा १ करोड बजेट छुटाउने गरेकोमा ५० लाख भत्ता र खाजामा सक्ने गरेकोले अब त्यस्ता विकृतिको अन्त गर्ने सिंहको भनाई छ । खेलकुदले स्वास्थ्य र राष्ट्रलाई विकास गर्नमा मद्दत पु¥याउने भएकोले अरु विद्यालयले पनि विद्यालय स्तरबाटै खेलकुदलाई जोड दिनुपर्ने मेयर सिंहले बताए ।
साउथ जोनले पहिलोपटक आयोजना गरेको वार्षिक खेलकुद कार्यक्रममा उत्साहजनक रुपमा नर्सरीदेखि कक्षा १० सम्मका १ सयभन्दा बढी विभिन्न खेलकुदमा एक हजार भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । खेलकुद समारोहमा मेयर सिंहसहित अन्य अतिथि, अभिभावक एवम् शिक्षकहरुले विजयी खेलाडी विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्याब्सन मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम केसी, प्याब्सन जिल्ला समिति पर्साका अध्यक्ष पुरन प्रधान, प्याब्सन महानगर अध्यक्ष आलोक कुमार चौरसिया, एन प्याब्सनका नगर अध्यक्ष जियालाल गुप्ता, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई लगायत अभिभावक शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।