News Desk
भक्तपुर । भक्तपुर–२ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा निर्वाचित भएका छन् ।
उनी नेकपा एमालेका महेश बस्नेतलाई ९५९ को मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सो क्षेत्रमा कूल ६५ हजार नौ सय ९१ मत रहेको थियो । सो मध्ये कांग्रेसका उम्मेदवार थापाले २४ हजार दुई सय ३८ मत र निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २३ हजार दुई सय ७९ मत प्राप्त गरे ।
भक्तपुर–२ मा विसं २०४६ मा बहुदल पुनःस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । विसं २०४८ मा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा यसपछि क्रमश विसं २०५१ को मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, ०५६ को निर्वाचनमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, ०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।