मकवानपुर-१ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह निर्वाचित
News Desk
Nov-24 , 2022 तारिख 04:16 बेलुका

हेटौंडा : प्रतिनिधसभा निर्वाचन अन्तर्गत मकवानपुर-१ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंह निर्वाचित भएका छन्। नेपाली काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाइ पराजित गर्दै सिंह निर्वाचित भएका हुन्। एकातर्फ सत्तारुढ गठबन्धन र अर्को तर्फ राप्रपा नेपालसँग एमालेको गठबन्धनको चुनौतिलाइ चिर्दै पाँचौं प्रयासमा सिंह पहिलोपटक निर्वाचित भएका हुन्। उनले काङ्ग्रेस सहमहामन्त्री डिनालाइ २ हजार ३ सय ८२ मतान्तरले पराजित गरे।

सिंहले २७ हजार ८ सय १६ मत पाउँदा डिनाले २५ हजार ४ सय ३४ मत ल्याइन्। एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४ सय २० मत पाए।सिंहले हालसम्म जनप्रतिनिधिका रुपमा कुनै पनि निर्वाचन जितेका थिएनन्। २०५४ सालमा तत्कालीन हेटौंडा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका डोरमणि पौडेलसँग पराजित भएका सिंह २०५६ मा मकवानपुर क्षेत्र नम्वर–२ मा प्रतिनिधिसभा सदस्य पदमा एमालेकै विरोध खतिवडासँग पराजित भए।

त्यस्तै २०६४ को संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका अनन्त पौडेलसँग पनि उनी पराजित भएका थिए। सिंह गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका थिए।पराजित भए पनि अप्रत्याशित रुपमा लोकप्रिय मत पाएर हौसिँदै प्रतिनिधिसभामा उम्मेदवारी दिएका सिंह  निर्वाचित हुन सफल भएका छन्।

 

धेरै पढिएको