समानुपातिक मतगणना जारी: ९ लाख ३५ हजार मत ल्याएर एमालेको अग्रता कायमै
News Desk
Nov-25 , 2022 तारिख 05:35 बिहान

काठमाडौं-९ मंसिर २०७९

गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगकाअनुसार आज बिहानसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ ।

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म ९ लाख ३५ हजार ७ सय ६ मत पाएको छ । नेपाली कांग्रेसले आठ लाख ९६ हजार ३ सय ४१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ५३ हजार १ मतसहित तेस्रो स्थानमा छ ।

त्यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ४ लाख १६ हजार ८ सय ६७ मत पाएको छ भने पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ४२ हजार १५ मत पाएको छ ।

यो अवधिसम्ममा जनता समाजवादी पार्टीले १ लाख १६ हजार ४ सय ६९ मत ल्याएको छ । त्यस्तैगरी जनमत पार्टीले ६९ हजार ९ सय ८९, नागरिक उन्मुक्ति पार्टीले ६६ हजार ४ सय १०, नेकपा (एकीकृत समाजवादी)ले ६५ हजार ५ सय ५५ र नेपाल मजदुर किसान पार्टीले ५६ हजार ३ सय २० मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार ४ सय २५ मत ल्याउँदा हाम्रो नेपाली पार्टीले ३० हजार ४ सय २५ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २६ हजार २ सय ६१ मत पाएको छ भने मङ्गोल नेशनल अर्गनाइजेसनले १८ हजार ३ सय १८ मत पाएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरुको समानुपातिकतर्फको मतसङ्ख्या १० हजारभन्दा कम छ ।

धेरै पढिएको