सर्लाही क्षेत्र नं ३ बाट एमालेका उप्रेती विजयी
News Desk
Nov-25 , 2022 तारिख 06:07 बिहान

सर्लाही-९ मंसिर २०७९

सर्लाहीको क्षेत्र नं ३ बाट नेकपा (एमाले)का हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साहलाई सात सय ७० मतान्तरले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

उप्रेतीले ३२ हजार नौ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार एक सय ६८ मत पाउनुभएको छ ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणामअनुसार जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार पाँच सय १९ मत ल्याउनुभएको छ । उप्रेती विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

अब जिल्लाको निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (२) र प्रतिनिधिसभा–२ को मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।