काभ्रेका प्रदेश सभामा गठबन्धनको ‘क्लिन स्विप’
News Desk
Nov-25 , 2022 तारिख 12:14 बेलुका

काभ्रे-९ मंसिर २०७९

काभ्रेको चार वटै प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ । काभ्रेको चारै प्रदेश सभामा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित हुनुभएको छ । काभ्रेको प्रदेश सभाको दुई वटा निर्वाचन क्षेत्रका उम्मेदवार पुनः विजयी हुनुभएको छ ।

काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश १(१)मा गठबन्धनतर्फ माओवादी केन्द्रका उम्मेदवार रत्न ढकाल भारी मतले पुनः विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिल बहादुर तामाङलाई ९ हजार ४ सय ४२ मतले पछि पार्नुभएको हो । ढकालले २० हजार ७ सय २० मत प्राप्त गर्नुभएको छ भने तामाङले ११ हजार २ सय ७८ मत पाउनुभएको छ ।

त्यस्तै प्रदेश १(२) मा गठबन्धनतर्फ नेपाली कांग्रेसका तिर्थ लामा ३ मत अन्तर विजयी हुनुभएको छ । २०७४ मा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सोही क्षेत्रमा विजयी भएका एमालेका चन्द्र लामालाई ३ मतले हराउँदै तिर्थ लामा विजयी हुनुभएको हो । तिर्थले १९ हजार २ सय ८० मत प्राप्त गर्नुभएको छ भने चन्द्रले १९ हजार २ सय ७७ मत पाउनुभएको छ ।

अघिल्लो निर्वाचनमा निर्वाचित हुनुभएका प्रदेश २(१) का उम्मेदवार नेकपा एकीकृत समाजवादीका उम्मेदवार लक्ष्मण लम्साल यसपटक पनि निर्वाचित हुनुभएको छ । लम्सालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कुमार खकुरेलले मतले १ सय ८८ पछि पार्दै विजयी हुनुभएको हो । लम्सालले १९ हजार ४ सय ८ मत प्राप्त गर्नुभएको छ भने खकुरेलले १९ हजार २ सय २० मत पाउनुभएको छ ।

यता प्रदेश २(२)मा नेपालीका कांग्रेसका कञ्चन चन्द्र बादे भारी मतले विजयी हुनुभएको छ । बादेले उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका कुमार थापालाई ४ हजार ७८ मतले हराउनुभएको हो । कांग्रेसका बादेले २६ हजार ३५ मत प्राप्त गर्नुभएको छ भने एमालेका थापाले २१ हजार ९ सय ५७ मत पाउनुभएको छ ।

काभ्रेका प्रतिनिधि सभा क्षेत्र नं १ र क्षेत्र नं २ मा मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धेरै पढिएको