स्नो लियोपार्ड ट्रस्ट (एसएलटी) लाई अन्तर्राष्ट्रिय जैविक विविधता संरक्षण पुरस्कार
News Desk
Nov-27 , 2022 तारिख 02:19 बेलुका

काठमाडौँ । बीबीभीए फाउन्डेसनले स्नो लियोपार्ड ट्रस्ट (एसएलटी) लाई अन्तर्राष्ट्रिय जैविक विविधता संरक्षण पुरस्कार प्रदान गरेको छ । स्पेनको राजधानी म्याड्रिडस्थित फाउन्डेसनको मुख्यालयमा यसै साता आयोजित समारोहमा  हिउँ चितुवा संरक्षणमा १२ वटा देशलाई साथ–सहयोग दिइरहेको ट्रस्टलाई इन्टरनेसनल पुरस्कार दिइएको हो । पुरस्कार अन्तर्राष्ट्रिय एसएलटीका कार्यकारी निर्देशक तथा हिउँ चितुवाविज्ञ चारुदत्त मिश्रले ग्रहण गरेका थिए ।

लोपोन्मुख हिउँ चितुवा संरक्षणका लागि एसएलटीले हिउँ चितुवा पाइने १२ वटा देशलाई समेटेर सन् २०१३ मा ग्लोबल स्नो लियोपार्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्राम (जिस्लेप) बनाउन पहलकदमी गरेको थियो । जसका कारण हिउँ चितुवा र यसको बासस्थल तथा पारिस्थितिकीय प्रणालीको संरक्षणमा योगदान पुगेको विश्लेषण छ । जिस्लेप बनेपछि हिउँ चितुवा संरक्षणका लागि १२ वटै देशका सरकारी निकायबीच सहयोग आदानप्रदान हुनुका साथै स्रोतको व्यवस्थापनमार्फत संरक्षणका लागि नीतिगत तहमै पहलकदमी भइरहेको छ । जिस्लेपको मुख्यालय किर्गिस्तानको राजधानी बिस्केकमा छ ।

गत कात्तिकमा १२ देशका प्रतिनिधि बिस्केकमा भेला भएर संरक्षणमा भइरहेका गतिविधिबारे बहस गर्दै आगामी रणनीतिक योजना घोषणा गरेका थिए । उक्त बैठकबाट बिस्केक घोषणापत्र जारी भएको छ ।

 

 

धेरै पढिएको