तीन वर्षपछि मौसमी रुघाखोकी
News Desk
Nov-28 , 2022 तारिख 11:21 बिहान

काठमाडौँ । जाडोयाम सुरु हुनासाथ मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) को संक्रमण बढेको छ । कोभिड संक्रमण उत्कर्षमा रहेको समय आम व्यक्ति र चिकित्सकले खासै चासो नलिने मौसमी रुघाखोकी संक्रमितहरूलाई पुनः हैरान बनाउन थालेको छ । पछिल्लो तीन वर्षयता मौसमी रुघाखोकी संक्रमण खासै चर्चामा थिएन । बिस्तारै चिसो बढ्दै गर्दा उपत्यकामा मौसमी रुघाखोकीका बिरामी बढेका छन् । सामान्य ठानेको रुघाखोकीले गाह्रो पार्न थालेपछि राजधानीका अस्पतालहरूमा बिरामीको चाप बढ्दा स्वास्थ्यकर्मीहरूको पनि ध्यानाकर्षण भएको छ ।

टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमी दिनहुँ १०–१५ जना सिजनल इन्फ्लुएन्जाका बिरामी आउने गरेका छन् ।  जँचाउन आउनेमध्ये विद्यालय उमेरका बालबालिकाको संख्या बढी छ । उनीहरूमा घाँटीमा खसखस, खोकी, सिँगान बग्ने, मध्यम ज्वरो, थकाइ, जीउ दुख्नेलगायत लक्षण पाइएको छ ।

 पछिल्लो समय मुलुकमा मौसमी रुघाखोकीको इन्फ्लुएन्जा ‘ए (एच१एन१) पीडीएम ०९’ अर्थात् पहिले बोलीचालीको भाषामा भनिने स्वाइन फ्लु र इन्फ्लुएन्जा ‘ए (एच३)’ देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारको हुने भए पनि मुख्य रूपमा महामारी भने इन्फ्लुएन्जा ‘ए’ र ‘बी’ भाइरसको कारणले फैलिने गर्छ ।

चिकित्सकहरूका अनुसार मौसमी रुघाखोकीको लक्षण सामान्यतया एक साता आफैं हराएर जान्छ भने केहीमा भने जटिल समस्या निम्त्याउँछ । बर्सेनि सामान्य भनिने यस्तै रुघाखोकीले बूढापाका, दीर्घरोगी, क्यान्सर, रोग प्रतिरोधक क्षमता कम भएका मधुमेही र बालबालिकाको मृत्युसमेत हुन गरेको छ ।

विज्ञहरूका अनुसार कोरोना महामारीका बेला इन्फ्लुएन्जा रिपोर्ट हुने गरेको थिएन ।

धेरै पढिएको