अबदेखि काठमाडौंवासीले खानेपानीको अभाव झेल्नु पर्दैन : मन्त्री चौधरी
News Desk
Dec-09 , 2022 तारिख 02:29 बेलुका

काभ्रे ।नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई बाह्रै महिना पानी खुवाउन सक्षम रहेकोले अब खानेपानीको समस्या झेल्नु नपर्ने बताएका छन्। शुक्रबार काभ्रेको धुलिखेलस्थित उज्यालो नेपाल संस्थाको सातौं वार्षिक साधारणसभा तथा अन्तरक्रियामा मन्त्री चौधरीले यस्तो बताएका हुन्।

उनले भने, 'अस्थायी रूपमा भए पानी अब काठमाडौंबासीलाई बाह्रै महिना मेलम्चीको पानी खुवाइनेछ। आजैबाट काठमाडौंमा खानेपानीको वितरण सुरु भएको छ।'मन्त्री चौधरीले समयमै काठमाडौबासीलाई मेलम्चीको पानी खुवाउन सफल भएको दाबी गरे। चुनावले गर्दा केही ढिलाइ भए पनि काठमाडौंका घरघरमा आफ्नै कार्यकालमा पानी खुवाउने योजना पूरा भएको समेत बताए।

त्यस्तै, उनले छिट्टै देशका सबै क्षेत्रमा खानेपानीको समस्य समाधान गर्ने गरी आफू लागेकोले अब कुनै नागरिकले पानीको अभाव झेल्नु नपर्ने उनको भनाइ थियो।उनले देशभरमा लिफ्टिङ विधिबाट खानेपानी बढी क्षेत्रमा पुर्‍याउन सफल भएको बताए।

उनले आफ्नै नेतृत्वमा खानेपानी ऐन बनाएको र केही दिनभित्र नै यसको नीतिसमेत बन्ने बताए। यसअघि जलस्रोत सम्बन्धी कानुनको आधारमा काम हुँदै आएको उनको भनाइ थियो।

मन्त्री चौधरीले सरकारले गर्नुपर्ने काम उज्यालो नेपालले गरेकोप्रती खुशीसमेत व्यक्त गरे। त्यस्तै, उज्यालो नेपालका अध्यक्ष प्रभाकार महर्जनले शिक्षा, स्वास्थ र खानेपानीको क्षेत्र काम गर्दै आएको बताए।

धेरै पढिएको